नयाँदिल्ली । युरोपेली युनियन (ईयू), रूस, चीन, भारत, पाकिस्तान, श्रीलङ्का, टर्की, सिरिया, मलेसिया, इन्डोनेसिया, इजिप्ट, युएई, कतार, दक्षिण अफ्रिकालगायत देश र सङ्गठनका प्रमुखले इरानी राष्ट्रपति रायसीको मृत्युप्रति शोक व्यक्त गरेका छन् ।
चीनका राष्ट्रपति सी चिनफिङले इरानी राष्ट्रपति इब्राहिम राईसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको बताएका छन् ।
राष्ट्रपति सी चिनफिङले भनेका छन्, “इरानी राष्ट्रपति रायसीको दुःखद निधनले इरानी जनताका लागि ठूलो क्षति भएको छ र चिनियाँ जनताले एक असल मित्र गुमाएका छन् ।”
रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले इरानका राष्ट्रपति इब्राहिम रायसीको निधनप्रति दुःख व्यक्त गर्दै इरानले एक जना ‘उत्कृष्ट राजनीतिज्ञ’ गुमाएको र यसबाट इरानलाई ‘अपूरणीय क्षति’ भएको बताएका छन् ।
पुटिनले भने, “रायसी एक उत्कृष्ट राजनीतिज्ञ हुनुहुन्थ्यो । उहाँको सम्पूर्ण जीवन आफ्नो मातृभूमिको सेवामा समर्पित थियो ।”
पुटिनद्वारा जारी शोक वक्त्रव्यमा भनिएको छ, “रूसको एक सच्चा मित्रको रूपमा उहाँले हाम्रो देशसँग एक असल छिमेकीको सम्बन्धको विकासमा व्यक्तिगतरूपमा उहाँले अमूल्य योगदान गर्नुभएको थियो ।”
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले इरानी राष्ट्रपति राइसीको हेलिकप्टर दुर्घटनामा भएको दुःखद निधनले आफू मर्माहत र स्तब्ध भएको बताएका थिए । “उहाँको परिवार र इरानका जनताप्रति मेरो हार्दिक समवेदना छ,” मोदीले सामाजिक सञ्जाल एक्समा लेख्नुभएको छ । “दुःखको यस घडीमा भारत इरानको साथमा रहनेछ ।”
भारत र इरानबीच ऐतिहासिक रूपमा घनिष्ठ सम्बन्ध रहँदै आएको छ । अमेरिकी प्रतिबन्धका बावजुद् पनि विश्वको प्रमुख अर्थव्यवस्था भारतले इरानबाट धेरै वर्षदेखि ठूलो मात्रामा तेल आयात गर्दै आएको छ ।
पाकिस्तानका प्रधानमन्त्री शहबाज सरिफले इरानका राष्ट्रपति इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको समाचारले आफू स्तभ्ध भएको बताएका छन् । “राष्ट्रपति रायसी र उनका साथीहरूको मृत्युप्रति शोक व्यक्त गर्न र इरानको राष्ट्रिय शोकको यस घडीमा ऐक्यबद्धता जनाउन पाकिस्तानले सोमबार एक दिन राष्ट्रिय शोकको घोषणा गरेको छ । उक्त दिन पाकिस्तानले आफ्नो राष्ट्रिय झण्डालाई आधा झुकाउनेछ,” शहबाजले ट्वीटरमा लेखेका छन् । -एएनआई































प्रतिक्रिया