आज कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको २०१ औँ जन्म जयन्ती

आज कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको २०१ औँ जन्म जयन्ती

केन्द्रबिन्दु
0
Shares

काठमाडौं

आज कार्ल मार्क्सको २०१ औँ जन्म जयन्ती नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज भन्दा २ सय १ वर्ष अघि अर्थात् ५ मे १८१८ मा विश्व विख्यात दर्शनशास्त्री तथा कम्युनिष्ट विचारका प्रणेता कार्ल मार्क्सको जन्म भएको थियो ।

पुँजीवादी उत्कर्षमा पुगेको आजको विश्वमा सिर्जित समस्याहरू समाधान गर्दै नयाँ संसारको निर्माण गर्न उहाँको दर्शनशास्त्रको आजपनि उत्तिकै महत्व छ । मार्क्सको २ सय १ औँ जन्म जयन्ती मनाउन र मार्क्सवादलाई मन्थन गर्ने लहर अहिले विश्वभर चलेको छ । कार्ल मार्क्स आधुनिक विश्वका सबैभन्दा प्रभावशाली राजनितिक दार्शनिक मानिनुहुन्छ ।

सन् १८४५ मा २९ वर्षको उमेरमै माक्र्सले फ्रेडेरिक एङ्गेल्ससँग मिलेर कम्युनिष्ट पार्टीको घोषणा पत्र लेख्नुभयो । यो घोषणा पत्र संसारमा सबैभन्दा बढी पढिएको र प्रयोगमा ल्याइएको दस्तावेजमा पर्छ । राजनीतिक क्षेत्रमा समेत यसको महत्व बढेर गएको छ । घोषणापत्रले पुँजीवादी विश्व समाज कसरी परिवर्तन हुन्छ र शोषणरहित र पूर्ण रूपमा मुक्त समाजको निर्माण कसरी सम्भव छ भन्ने व्याख्या गरेको छ ।

आइतबार (आज) काठमाडौंस्थित नेपाल प्रज्ञाप्रतिष्ठान कमलादीमा दिउँसो २ बजे कार्ल माक्र्सको २ सय १ औँ द्विशतवार्षिकी भव्य रुपमा मनाइँदैछ । कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री एवम् नेकपाका नेताद्वय माधवकुमार नेपाल, झलनाथ खनाल, कार्ल मार्क्स द्विशतवार्षिकी समारोह समिति संयोजक घनश्याम भूषाल, उपसंयोजक रामकार्की लगायतले सम्बोधन गर्नुहुनेछ ।
नेपाल समाचारपत्रबाट

Logo