भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए?

भारतको विदेशमन्त्रीमा फेरि जयशंकर, कसले कुन मन्त्रालय पाए?

केन्द्रबिन्दु
210
Shares

काठमाडौं। चुनावी परिणामले सबैलाई भाग पुर्याएर सरकार चलाउनुपर्ने अवस्थामा पुगेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यसपटक विगतभन्दा निकै ठूलो मन्त्रिपरिषद् गठन गरे।

भारतीय इतिहासमै लगातार चुनाव जितेर तेश्रो पटक प्रधानमन्त्री हुने दोश्रो नेता बनेका मोदीले यसपटक ७२ सदस्यीय मन्त्रिपरिषद् गठन गरेका छन्। जबकि विगतमा उनको दल भारतीय जनता पार्टीले बहुमत ल्याउँदा मोदी मन्त्रिपरिषद् सन् २०१४ मा ४६ र सन् २०१९ मा ५२ सदस्यीयमात्रै थिए। यसपटक बहुमत नपाएकै कारण प्रधानमन्त्री मोदीले सबैलाई समेटेर मन्त्रिपरिषद् गठन गर्न बाध्य भए। तर, शक्तिशाली मन्त्रालयहरूमा भने पुरानै नेताहरुलाई दोहोर्याएका छन्।

प्रधानमन्त्री मोदीले सोमबार अमित शाहलाई गृह मन्त्रालयको जिम्मेवारी दिएका छन् भने राजनाथ सिंहलाई रक्षा र निर्मला सीतारमणलाई अर्थ मन्त्रालयमा जिम्मेवारी दिएका छन्। नेपालले चासोका साथ लिएको विदेश मामिला मन्त्रालयमा पनि डा एस जयशंकर दोहोरिएका छन्। जयशंकर यसअघि पनि विदेशमन्त्री नै थिए।

प्रधानमन्त्री मोदीले केन्द्रीय मन्त्रिपरिषद्मा नयाँ प्रवेश गर्नेहरुमध्ये शिवराज सिंह चौहानलाई कृषि तथा ग्रामीण विकास मन्त्रालयको जिम्मेवारी दिएका छन्। चौहान मध्य प्रदेशका पूर्वमुख्यमन्त्री हुन्। मोदीले भाजपाका अध्यक्ष जेपी नड्डालाई स्वास्थ्य मन्त्रालयको जिम्मेवारीमा फर्काएका छन्। उनी मोदीको पहिलो कार्यकालमा स्वास्थ्यमन्त्री थिए।

त्यस्तै, यातायात मन्त्रीमा नितिन गडकरी दोहोरिएका छन् भने हरियाणाका पूर्वमुख्यमन्त्री मनोहरलाल खट्टरलाई शहरी विकास र ऊर्जा मन्त्रालयको जिम्मेवारी दिइएको छ। अश्विनी वैष्णवले सूचना तथा सञ्चार मन्त्रालयको जिम्मेवारी पाएका छन्। धर्मेन्द्र प्रधान शिक्षामन्त्री बनेका छन् भने पियुष गोयलले उद्योग बाणिज्य मन्त्रालयको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री मोदीले किरेन रिजिजुलाई संसदीय मामिला मन्त्रालयको जिम्मेवारी दिएका छन् भने अर्जुनराज मेखवाललाई कानून मन्त्रालयकै जिम्मेवारीमा दोहो[याएका छन्। भुपेन्द्र यादव वातावरण मन्त्रालयको जिम्मेवारीमा आएका छन्।

एचडी कुमारस्वामीले ठूला उद्योग मन्त्रीको जिम्मेवारी पाएका छन् भने जितनराम माझीले साना तथा मझौला मन्त्रालय दिइएको छ। कुमारस्वामी जेडी सेक्युलर दलबाट हुन् भने माझी एचएएम सेक्युलरबाट मन्त्री बनेका हुन्। त्यस्तै, जनता दल संयुक्तका लालन सिंहलाई मत्स्यपालन तथा पशुपालन मन्त्रालयको जिम्मेवारी दिइएको छ।

त्यस्तै, टीडीपीका राममोहन नायडुलाई नागरिक उड्यन मन्त्रालय र एलजेपीका नेता निराग पासवानलाई खाद्य प्रशोधन मन्त्रालयको जिम्मेवारी दिइएको छ। त्यस्तै, सीआर पाटिलले जलशक्ति मन्त्रालय पाएका छन्। गजेन्द्रसिंह शेखावत संस्कृति र पर्यटन मन्त्री बनेका छन्। गृहमन्त्री अमित शाहले सहकारी मन्त्रालय र अर्थमन्त्री सीतारमणले कर्पोरेट मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका छन्।

वीरेन्द्र कुमारलाई सामाजिक न्याय तथा जुआल ओरमलाई जनजाति मामिला मन्त्री बनेका छन्। प्रधानमन्त्री मोदीले प्रल्हाद जोशीलाई उपभोक्ता मामिला, जी किशन रेड्डीलाई खानी र गिरिराज सिंहलाई ग्रामीण विकास तथा पञ्चायतको जिम्मेवारी दिइएको छ। अन्नपूर्ण देवी महिला तथा बालविकास मन्त्री बनेकी छन्।

आरएलडी नेता जयन्त चौधरीलाई सीप विकास र उद्यमशीलता मन्त्रालय तथा शिवसेना नेता जाधव प्रतापराव गणपतरावले आयुष मन्त्रालयको जिम्मेवारी पाएका छन्।

Logo