भेनेजुएलामा राष्ट्रपति निकोलश मादुरोलाई सत्ताबाट हटाउने प्रयासमा रहेका विपक्षी नेताले आम हड्ताल आह्वान गरेका छन् । मादुरोलाई सत्ताबाट हटाउनका लागि विपक्षी नेता क्अन गुएडोले शृङ्खलाबद्ध आमहड्तालको आह्वान गरेका हुन् ।
राजधानी काराकासमा प्रदर्शनकारी र सुरक्षाकर्मीबिच बुधबार झडप हुँदा एक महिलाले ज्यान गुमाएकी छिन् । बुधबार विपक्षी नेता गुएडोले सैन्य कू को प्रयास गरेको र त्यो असफल रहेको राष्ट्रपति मादुरो पक्षले आरोप लगाएको थियो ।
तर अमेरिकाले भने मादुरो भागेर क्युवा जाने तयारीमा रहेका भए पनि अन्तिम समयमा रुसको आग्रहमा नगएको दाबी गरेको छ । यो दाबी मादुरोले खारेज गरेका छन् ।
गुएडो पक्षले भने मादुरोको ‘इनर सर्कल’ का तीन सदस्य उनलाई सत्ताबाट हटाउने पक्षमा सहमत भएको र पछि आफ्नो निर्णयमा अडिग रहन नसकेको दाबी गरेको थियो । अमेरिकी अधिकारीले गुएडोको पक्षमा उभिने बताएका मादुरोका तीन विश्वास पात्रले बोली फेरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
मादुरो विरुद्ध हुँदै आएको प्रदर्शनको नेतृत्व गर्दै आएका विपक्षी नेता गुएडोले देशको सेनासँग मादुरोको शासन अन्त्यका लागि सहयोग गर्न अपिल गरेका थिए । राजधानी काराकासको सडकमा गुएडोको समर्थन र मादुरोको विपक्षमा प्रदर्शन भयो, तर सैन्य नेतृत्व राष्ट्रपति मादुरोको पछाडि उभिए । उनीहरुले गुएडोमाथि कू को प्रयास गरेको आरोप लगाएका छन् ।
अमेरिकाका विदेश मन्त्री माइक पोम्पेओले भेनेजुएली राष्ट्रपति मादुरो मंगलबार देश छोडेर क्युवा जाने तयारी रहेको तर रुससँग उनको कुरा भएपछि उनी क्युवा नगएको बताएका छन् । तर पोम्पेओले यसबारे कुनै प्रमाण र अरु थप विवरण भने खुलाएका छैनन् ।
राष्ट्रपति मादुरोले स्थानीय समय अनुसार मंगलबार बेलुका टेलिभिजन मार्फत सम्बोधन गर्दै आफ्नो मनोवैज्ञानिक जित प्रस्तुत गरेका थिए । उनको साथमा सैन्य कमाण्डरहरु रहेका थिए । उनले अमेरिकी ‘कठपुतली’ माथि आफूले विजय प्राप्त गरेको दाबी गरेका छन् ।
गएको जनवरी २३ मा काराकासमा भएको प्रदर्शनमा गुएडोले आफूलाई देशको अन्तरिम राष्ट्रपति घोषित गरेका थिए । उनलाई अमेरिका, युरोपका देश तथा ल्याटिन अमेरिकाका अधिकांश देशको साथ छ । मादुरोलाई चीन र रुसी सेनाको साथ छ ।
केही वर्षदेखि प्रायः सखाप जस्तै बनेको देशका आर्थिक अवस्थालाई अन्देखा गरेको आरोप निकोलस मादुरोमाथि रहेको छ । मुद्रास्फिती, विद्युत आपूर्ति बन्द तथा आधारभूत आवश्यक सामग्रीको अभावले भेनेजुएलाको जनजीवन कष्टकर बनेको छ ।
आर्थिक मन्दीकै कारण लाखौँ भेनेजुएलाली छिमेकी देश कोलम्बियासहितका क्षेत्रमा शरण लिन बाध्य भएका छन् ।
मादुरोले जनवरीको सुरुमा दोस्रो कार्यकालका लागि राष्ट्रपतिको शपथ लिएका थिए ।
विपक्षीले बहिष्कार गरेको तथा व्यापक मात्रामा धाँदली भएको आरोप लागेको चुनावमा मादुरो विजयी भएका थिए । विपक्षी नेतालाई जेल हालेर भएको चुनाव निष्पक्ष नरहेको आरोप छ । मादुरोले दोस्रो कार्यकालका लागि शपथ लिएपछि विपक्षीको प्रदर्शन उग्र रुपमा चर्किएको हो ।
भेनेजुएलामा हजारौँ मानिसले अहिलेका राष्ट्रपति निकोलश मादुरोविरुद्ध प्रदर्शन गर्दै आएका छन् । ३५ वर्षका गुएडोले मादुरोविरुद्धको प्रदर्शनको नेतृत्व गरिरहेका छन् । गुएडो भेनेजुएलाको नेशनल एसेम्ब्लीका अध्यक्ष पनि हुन् ।





























प्रतिक्रिया