सिड्नी
अस्ट्रेलियाका प्रधानमन्त्री स्कट मरिसनले मे १८ मा संसदको चुनाव गरिने बिहीबार घोषणा गर्नु भएको छ । यस पटकको निर्वाचनमा सत्तारुढ दलले तेस्रो कार्यकालका लागि प्रयत्न गर्नेछ । सङ्घर्षरत वर्तमान प्रधानमन्त्री मरिसनले चुनाव जित्न निकै मिहिनेत गर्नुपर्ने मत सर्वेक्षणहरुले देखाएका छन् ।
अस्ट्रेलियाको चुनाव सामान्यतया दुई पार्टीबीच निकै प्रतिस्पर्धी हुने गरेको छ । मत सर्वेक्षणहरुमा लिबरल पार्टीका नेता स्कट मरिसन र लेबर पार्टीका नेता बिल शोर्टेन दुबैको स्वीकार्य दर कम देखिएको छ । दुबै नेताले आमजनतालाई आफूतर्फ आकर्षित गर्न प्रयास गरिरहनु भएको छ ।
मरिसनले करिब एक वर्ष अघि लिबरल पार्टीभित्र विद्रोह गरी प्रधानमन्त्री पदमा पुग्नु भएको हो । पार्टीका नरमपन्थी र राष्ट्रवादीहरुबीचको विभाजनलाई मत्थर बनाउनु पनि मरिसनका लागि अर्को चुनौती हो । उहाँले चुनावी प्रचारका क्रममा यो विभाजनलाई रोक्न प्रयास गरेको देखिएको छ ।
“हामी विश्वकै सबैभन्दा राम्रो देशमा बसोबास गरिरहेका छौं,” मरिसनले क्यानबेरामा आयोजित समारोहमा चुनावको घोषणा गर्दै भन्नुभयो, “हाम्रो भविष्य बलियो अर्थतन्त्रमै टिक्नेछ ।”
चुनाव घोषणा नभए पनि अस्ट्रेलियामा चुनावी प्रचार अभियान शुरु भइसकेका छन् । अमेरिकामा झैं हप्तौंदेखि चुनावी विज्ञापनहरु देखिन थालिसकेका थिए ।
गत साता मरिसनको अल्पमतको सरकारले मतदातालाई प्रभावित तुल्याउन कर कटौतीको प्रस्ताव अघि सारेको थियो । लेबर पार्टी विजयी भएमा करका दर बढ्ने र आर्थिक वृद्धि कम हुने प्रधानमन्त्री मरिसन र उहाँको दलले आरोप लगाउँदै आएको छ ।
रासस / एएफपी































प्रतिक्रिया