सन फ्रान्सिस्को
पेरूका पूर्वराष्ट्रपति अलेजांद्रो तोलेदोलाई क्यालिफोर्नियामा सार्वजनिक रूपमा मदीरा पिएको आरोपमा आइतबार गिरफ्तार गरिएको अमेरिकी प्रहरीले बताएको छ । आइतबार पक्राउ परेका तोलेदोलाई एक रात हिरासतमा राखी सोमबार विहानै रिहा गरिएको थियो ।
सत्तामा रहेका समय पदीय दायित्वको दुरूपयोग गरी ल्याटिन अमेरिकाकै सबैभन्दा ठूलो भनिएको भ्रष्टाचार गरेको आरोप पूर्वराष्ट्रपतिमाथि लागेपछि उहाँ सन फ्रान्सिस्कोमा बसोबास गर्दै आउनु भएको थियो ।
सन मेटियो काउन्टीको सेरिफ कार्यालयका प्रवक्ता रोजमेरी ब्लैंक्सवेडले तोलेदोको पक्राउबारे भन्नुभयो, “७२ वर्षीय तोलेदालाई आइतबार राति मेनलो पार्क शहरको सन फ्रान्सिस्कोको सामुद्रिक क्षेत्रमा रहेको एक रेष्टुरेण्टबाट गिरफ्तार गरिएको थियो । उहाँलाई कुनै आरोपमा मुद्दा नचलाई सोमबार विहानै छोडिएको छ ।”
सन् २००१ देखि सन् २००६ सम्म राष्ट्रपतिका रूपमा काम गरेका पूर्वराष्ट्रपति कार्यकाल पूरा गरेपछि स्टेनफोर्ड विश्वविद्यालयमा अध्ययन गर्ने शिलशिलामा क्यालिफोर्निया बस्दै आउनु भएको छ ।
पेरूमा पूर्व राष्ट्रपतिलाई गिरफ्तारीका लागि ३० हजार अमेरिकी डलरको पुरस्कार घोषित गरिएको छ । पूर्वराष्ट्रपति तोलेदोविरुद्ध राष्ट्रपतिका रूपमा रहेका समय ब्राजीलको निर्माण कंपनी ओडेब्रेच्टसँग दुई करोड डलर घुस लिएको आरोप छ । यद्यपि उहाँले भ्रष्टाचार आरोपको खण्डन गर्दै आउनु भएको छ ।
रासस































प्रतिक्रिया