म्यान्मामा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

म्यान्मामा यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुग्यो

केन्द्रबिन्दु
24
Shares

याङ्गुन । म्यान्माको यागी आँधीका कारण मृत्यु हुनेको सङ्ख्या ७४ पुगेको सरकारी सञ्चारमाध्यमले आइतबार जनाएका छन् । म्यान्मा, भियतनाम, लाओस र थाइल्याण्डमा गत साता आएको ‘यागी’ नाम दिइएको आँधीका कारण आएको बाढी र पहिरोमा परी कम्तीमा ३५० जनाको मृत्यु भएको सरकारी तथ्याङ्कले देखाएको छ ।

म्यान्मामा शुक्रबार साँझसम्म बाढीका कारण ७४ जनाको मृत्यु हुनुका साथै ८९ जना बेपत्ता भएको ग्लोबल न्यू लाइट अफ म्यान्माले जनाएको छ । बाढीले ६५ हजारभन्दा बढी घरमा क्षति पुर्‍याएको, पाँचवटा बाँध भत्काएको विज्ञप्तिमा उल्लेख छ । शुक्रबार सार्वजनिक गरिएको तथ्याङ्कअनुसार जुन्तामा यसअघि ३३ जनाको मृत्यु भएको थियो भने दुई लाख ३५ हजारभन्दा बढी मानिस विस्थापित भएका थिए ।

राजधानी न्यापितको बाहिरी भागलगायत मध्य क्षेत्रका केही भाग डुबानमा परेका छन् । पहाडी क्षेत्रमा धेरै स्थानमा पहिरो गएका खबर आएको छ । त्यहाँ सडक र पुलमा क्षति पुगेको छ भने फोन तथा इन्टरनेटको लाइन बन्द हुँदा सूचना सङ्कलन गर्न कठिन भएको छ ।

मध्य र दक्षिणी म्यान्मा हुँदै बग्ने सिताउङ र बागो नदीमा पानीको सतह आइतबार पनि खतराको तहभन्दा माथि रहेको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । म्यान्माका अधिकारीहरूले विस्थापितलाई राख्नका लागि ८२ वटा ‘राहत शिविरहरू’ खोलेको सरकारी सञ्चार माध्यमहरूले जनाएका छन्।

थाइल्याण्डको मौसम कार्यालयले मेकोङ नदीको छेउछाउका प्रान्तहरूमा थप भारी वर्षाको चेतावनी दिएको छ।

Skip This
Skip This
Logo