गुवाहाटी
भारतमा विषाक्त मदिरा सेवनका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ । भारतको आसाम राज्यमा भएको यस घटनामा परी बिरामी भएका दुई सय भन्दा बढी व्यक्तिलाई उपचारका लागि अस्पतालमा भर्ना गरिएको छ ।
मृत्यु भएका र बिरामी भएका सबै आसामको चिया बगानमा काम गर्ने मजदूरहरू हुन् । मृत्यु हुनेक्रम गत बिहीबार देखि सुरु भएको थियो । स्थानीय सञ्चार माध्यममा प्रकाशित विवरणहरूका अनुसार मृत्यु हुनेहरूको सङ्ख्या अझ बढ्न सक्ने बताइएको छ ।
दुई हप्ता अघि अरू दुई राज्य उत्तर प्रदेश र उत्तराखण्डमा पनि विषाक्त मदिराका कारण झण्डै एक सय जनाको मृत्यु भएको थियो । “पछिल्लो विवरण अनुसार गोलघाट र जोरहाटमा विषाक्त मदिराका कारण मृत्यु हुनेको संख्या १३३ पुगेको छ,” प्रदेश प्रहरीका अतिरिक्त महानिर्देशक मुकेश अग्रवालले पत्रकारहरुसँग भन्नुभयो ।
उहाँले घटनामा दोषी भएको आशङ्कामा दश जनालाई गिरफ्तार गरिएको र पीडितहरुले सेवन गरेको मदिराको नमुना परीक्षणका लागि प्रयोगशालामा पठाइएको पनि जानकारी दिनुभयो ।
त्यसैगरी मदिरा बिक्रीवितरण रोक्न नसकेको भन्दै दुईजना अधिकारीहरूलाई पनि निलम्बन गरिएको जनाइएको छ । गोलाघाट स्वास्थ्य विभागका सहनिर्देशक डा. रतुल बोरदोलोईका अनुसार पीडितहरूमा बान्ता हुने, छाती दुख्ने एवम् सास फेर्न गाह्रो हुने गम्भीर समस्यासहित अस्पताल पुगेका थिए ।
रासस / एएफपी





























प्रतिक्रिया