भारतद्वारा पाकिस्तान जाने ३ वटा नदीको पानी बन्द गर्ने घोषणा

भारतद्वारा पाकिस्तान जाने ३ वटा नदीको पानी बन्द गर्ने घोषणा

केन्द्रबिन्दु
0
Shares

नयाँदिल्ली

पुलवामा आतंकवादी आक्रमणपछि भारतले पाकिस्तान जाने तीनवटा नदीको पानी बन्द गर्ने घोषणा गरेको छ । भारतका केन्द्रीय मन्त्री नीतीन गडकरीले बिहीबार यस्तो जानकारी दिएका हुन् ।

सिन्धु जल सम्झौता अन्तर्गत भारतले व्यास, रावी र सतलज नदीको पानी पाकिस्तानलाई उपलब्ध गराउँदै आएको थियो । उक्त पानी अब भारतका पञ्जाब र जम्मु कश्मीरका नदीमा प्रवाह गराइने उनले स्पष्ट पारेका छन् ।

गडकरीले यसका लागि जम्मु कश्मीरको शाहपुर–काँडीमा रावी नदीमा परियोजना काम शुरु भइसकेको जानकारी दिए । यसैगरी उक्त परियोजनाको मद्दतमा जम्मु कश्मीरमा रावी नदीको पानी संग्रह गर्ने र अन्य राज्यमा प्रवाहित गरिने गडकरीको कथन छ ।

यसअघि मंगलबार बागपतको एक कार्यक्रममा मन्त्री गडकरीले भनेका थिए, ‘देश विभाजनपछि भारत र पाकिस्तानले तीन तीन वटा नदीको पानी प्रयोग गर्ने सहमति भएको थियो ।’

यो सम्झौता अन्तर्गत भारतको भागमा आएका तीन वटा नदीको पानी पाकिस्तानतर्फ गइरहेको थियो । अब तीनवटै नदीमा परियोजना चालू गरेको र त्यहाँ जम्मा भएको पानी पञ्जाब र जम्मु कश्मीरका बासिन्दालाई उपलब्ध गराइने उनले जानकारी दिए । यसबाट यमुना नदीमा पानीको मात्रा पनि बढ्ने उनको कथन छ ।

पुलवामा आक्रमणपछि भारतीय नागरिकले पाकिस्तानलाई सबक सिकाउनुपर्ने माग गर्दै आएका छन् । यस्तो बेला गडकरीले पाकिस्तान जाने नदी बन्द गर्ने घोषणा गरेका छन् । भारत र पाकिस्तानबीच सन् १९६० मा सिन्धु जल सम्झौता भएको थियो । सम्झौतामा पूर्वतर्फ बग्ने नदी व्यास, रावी र सतलजका लागि भएको थियो । उक्त सम्झौता अन्तर्गत भारतले ३.३ करोड एकड फिट पानी पाउँछ भने पाकिस्तानले ८० करोड एकड फिट पानी पाउँछ । यसबाट भारतले भन्दा पाकिस्तानले निकै बढी पानी पाउँछ ।

यसअघि पनि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई पानी रोक्ने चेतावनी दिएका थिए । उनले उरी आक्रमणपछि पानी र रगत सँगसँगै बग्न नसक्ने बताएका थिए ।
एजेन्सी

Logo