काठमाडौं ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात् कोभिड–१९ एक वर्ष पूरा हुन लाग्दा पनि नियन्त्रणमा आउन सकेको छैन । मानव जातिलाई नै संकटमा पारेको यस भाइरस रोकथामका लागि विभिन्न प्रयास र उपाय अपनाइए पनि भाइरसले विश्वलाई नै प्रभावित बनाएको छ ।
विश्वका सबै देशहरुले आ–आफ्नै हिसाबले भाइरसलाई रोकथाम गर्ने प्रयास गरिहरहेका छन् । कोरोना भाइरसविरुद्वको खोप तत्कालका लागि अत्यावश्यक रहेको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले गत मार्चबाट यस भाइरसलाई महामारीको रुपमा घोषणा गरेको थियो । भाइरस फैलिएको एक वर्ष बित्न लाग्दा पनि खोप अझै अनुसन्धानमै रहेको छ । धेरै खोपहरुको विभिन्न चरणमा परीक्षण चलिरहेको छ, भने केही खोप मानव परीक्षणमा पुगिसकेको छ ।
कहाँ कहाँ हुदैछ परीक्षण ?
रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोभिड–१९ को खोप
रुसमा एक लाखभन्दा बढी नागरिकले लगाए कोभिड–१९ को खोप रुसमा एक लाखभन्दा पनि बढी नागरिकले रुसले नै विकास गरेको कोभिड १९ विरुद्धको खोप लगाएका छन् । रुसले गएको अगष्ट महिनामा नै कोभिड १९ का विरुद्धको खोप स्पुतनिक–भी निर्माण गरिसकेको थियो । सो खोप प्रभावकारी रहेको भन्दै रुसले त्यसलाई प्रयोगमा ल्याएको छ ।
गत अगष्ट ११ मा नै रुसले सो खोप प्रयोगमा ल्याएको बताइएको थियो । यसरी रुस कोभिड १९ विरुद्धमा खोप लगाउने विश्वकै पहिलो देश भएको पनि बताइएको छ । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुरास्कोले सो कुराको जानकारी दिएका हुन् । साथै रुसले त्यहाँका नागरिकलाई सो खोप लगाएको बारेमा भिडियो पनि बनाएको र त्यसको लिंक पनि संयुक्त राष्ट्रसंघलाई दिइएको जानकारी दिएका छन् ।
गएको महिना मात्र सो खोपको प्रभावकारिताको बारेमा अनुसन्धान गरिएको थियो । सो अनुसन्धानबाट उक्त खोपले करिब ९२ प्रतिशतसम्म काम गर्ने पाइएको थियो । यस्तै राजधानी मस्कोका क्लिनिकहरूमार्फत् कोरोना भाइरसको उच्च जोखिममा रहेका मानिसहरूलाई उक्त खोप सेवा उपलब्ध गराउन थालेको छ । खोप विकासमा संलग्न अधिकारीहरूले उक्त खोप ९५ प्रतिशत प्रभावकारी रहेको र यसको प्रयोगबाट कुनै उल्लेख्य नकारात्मक प्रभाव नदेखिएको बताएका छन् ।
खोपको रूस लगायतका स्थानमा सामूहिक परीक्षण तथा अनुसन्धान भइरहेको छ । दुई पटक लगाउनु पर्ने खोप लिन हजारौँ सर्वसाधारणहरूले आफ्नो नाम दर्ता गराएका छन् ।
मस्को नगरप्रमुख सर्गे सोब्यानिनका अनुसार एक करोड ३० लाख जनसंख्या रहेको मस्कोमा विद्यालय, स्वास्थ्य क्षेत्र र सामाजिक कार्यमा संलग्न मानिसहरूलाई प्राथमिकतामा राखी खोप सेवा उपलब्ध गराइराखिएको छ । पछिल्लो ३० दिनमा कुनै सुई लगाएका वा श्वासप्रश्वासमा समस्या भएकाहरूलाई खोप नदिइने बताइएको छ । यस्तै दीर्घरोगी, गर्भवती र स्तनपान गराइरहेका महिलालाई पनि खोपको प्रारम्भिक अभियानमा संलग्न नगराइने बताइएको छ ।
क्यानडाद्वारा जनवरीदेखि कोरोनाको खोप दिने तयारी
यसैबीच, क्यानडा सरकारले आगामी जनवरीदेखि आफ्नो देशमा कारोनाविरुद्धको खोप दिने तयारी गरेको छ । क्यानडामा खोप वितरण कार्यको जिम्मेवारी पाएका मेजर जनरल डेनी फोर्टीनले एक पत्रकार सम्मेलनमा खोप वितरण गर्ने गरी तयारी भइरहेको जानकारी दिएका छन् । जनरल डेनीका अनुसार डिसेम्बर ७ देखि यस सम्बन्धी कामका लागि क्यानडाको सेना खटिने र डिसेम्बर २५ सम्ममा सबै तयारी पुरा हुनेछ । क्यानडामा अहिलेसम्म चार लाख आठ हजारभन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् भने १२ हजार ५ सय भन्दा बढीको मृत्यु भएको छ ।
बेलायतले फाइजरको कोराना विरुद्धको खोपलाई दियो प्रयोगको अनुमति
यसैबीच बेलायतले फाइजर र बायोएनटेक खोपलाई बृहतरूपमा प्रयोग गर्न अनुमति दिएको छ । भाइरस संक्रमण र महामारीकाबीच कोरोना विरुद्धको विकल्प खोजिरहेको विश्वमा बेलायत नै खोप प्रयोगको अनुमति दिने पहिलो देश बनेको छ । ब्रिटिश नियामक संस्था एमएचआरएका अनुसार ९५ प्रतिशतसम्म सुरक्षा प्रदान गर्ने सो खोप आगामी सातादेखि लगाउन सुरु गर्न सकिने बेलायनी सरकारद्वारा जारी वज्ञप्तीमा उल्लेख छ । जस अन्तर्गत खोप लगाउन केही दिनमै सर्वाधिक जोखिममा रहेका मानिसबाट सुरु हुने अपेक्षा गरिएको छ । यूकेले सो खोपको चार करोड मात्रा किनिसकेको छ । खोपका उक्त मात्रा दुई करोड मानिसलाई पर्याप्त हुने बताइएको छ ।
तीमध्ये एक करोड मात्रा तुरुन्तै उपलब्ध हुने र आठ लाख मात्रा केही दिनमा आइपुग्ने बीबीसीमा उल्लेख छ । कोभिड मात्र नभएर खोपको इतिहासमा यो सबैभन्दा छिटो स्वीकृति पाउने खोप बनेको छ । दश महिनाको अवधिमा यो खोप योजनाबाट अनुमतिसम्म आइपुगेको हो । कतिपय खोपका लागि यो अवधि एक दशकभन्दा लामो भएका थिए ।
एनएचएसका प्रमुख कार्यकारी सर साइमन स्टेभेन्सले यूकेको स्वास्थ्य सेवाले देशको इतिहासमै सबैभन्दा बृहतखोप कार्यक्रमको तयारी गरिरहेको बताएका छन् । खोप कार्यक्रमका लागि लगभग ५० अस्पताल तयारी अवस्थामा राखिएको र अन्य खोपकेन्द्रहरू तयार गर्न थालिएको छ । विज्ञहरूले खोप सुरु भएपछि पनि मानिसहरू सतर्क हुनु पर्ने र स्वास्थ्य सावधानीहरू अपनाउनु पर्ने बताएका छन् ।
अनुमति प्राप्त फाइजर र बायोएनटेक खोपले सम्पूर्णरूपमा प्रयोगात्मक प्रकृया अपनाएको छ जुन प्रकृयामा मानव शरिरको रोग प्रतिरोधी क्षमतालाई कोरोना भाइरसविरूद्ध लड्न अभ्यस्त तुल्याउन उक्त भाइरसको जेनेटिक कोडको एक भागलाई सुईमार्फत शरिरमा प्रवेश गराउने विधि संलग्न गरिने उल्लेख गरिएको छ । पहिलेका परीक्षणहरूले उक्त खोपले शरिरलाई कोरोना भाइरससँग लड्न उक्त भाइरस विरोधी एन्टिबडि निर्माण गर्न र टि–सेल भनिने शरिरको रोग प्रतिरोधी क्षमताको अर्को भाग तयार पार्न अभ्यस्त तुल्याउने देखाएका थिए । उक्त खोपको दुई मात्रा तीन हप्ताको अन्तरालमा आवश्यक पर्ने उल्लेख गरिएको छ ।
अमेरिका, जर्मनी, ब्रजिल, अर्जेन्टिना, दक्षिण अफ्रिका र टर्कीमा गरिएको परीक्षणहरूमा उक्त खोपको दोस्रो मात्रा दिइएको सात दिनपछि खोप दिइएकाहरू मध्ये ९० प्रतिशतलाई कोरोना भाइरस संक्रमणबाट सुरक्षा प्राप्त भएको देखिएको थियो । औषधी निर्माण कम्पनी फाइजरका अनुसार कम्पनीले यो वर्षको अन्त्यसम्ममा पाँच करोड मात्रा खोप आपूर्ति गर्न सकिने उल्लेख गरिएको छ । साथै सन् २०२१ को अन्त्य सम्ममा उक्त कम्पनीले १ अर्ब तीस करोड मात्रा आपूर्ति गर्न सक्ने बताएको छ ।
बहरानइन बन्यो कोरोनाको खोप प्रयोग गर्न दिने दोस्रो देश
कोरोनाको विरुद्धमा बनाइएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न स्वीकृति दिनेमा बहराइन दोस्रो देश बनेको छ । फाइजर र बायोएनटेकले बनाएको खोप आपतकालिन अवस्थामा प्रयोग गर्न सकिने गरी बहराइन सरकारले स्विकृति दिएको छ । बहराइनको राज्यद्वारा संचालित बहराइन न्युज एजेन्सीले यो खोप प्रयोगका लागि स्वीकृति दिने देशमा बेलायतपछि बहराइन दोस्रो देश बनेको उल्लेख छ ।
देशको राष्ट्रिय स्वास्थ्य नियमक निकायले सवै कुरा अध्ययन गरेर यसलाई आपत्कालिन अवस्थामा प्रयोग गर्न सकिने सिफारिस गरेपछि सरकारले त्यसलाई स्वीकृति दिएको छ । प्रयोगका लागि स्वीकृति दिएपनि कति खोप सरकारले ल्याएको छ र त्यसको प्रयोग कहिलेदेखि गरिनेछ भन्ने बारेमा भने केही जानकारी दिइएको छैन ।
त्यसैगरी फाइजरले पनि बहराइनसँग भएको सम्झौतामा कति खोप बहराइनलाई दिन लागिएको हो र कहिले कहिले ढुवानी हुने हो भन्ने लगायतका जानकारी दिन नमिल्ने र आफ्नो तर्फबाट गोप्य नै राखिने जनाएको छ ।
जापान निवासीले कोरोनाको खोप निःशुल्क पाउने
यस्तै जापानमा बस्ने सबैलाई सरकारले कोरोना भाइरसविरुद्धको खोप निःशुल्क लगाइदिने भएको छ । दैनिकरुपमा कोरोना भाइरसबाट संक्रमितहरु भेटिइरहेका बेला जापानको संसदले एउटा कानुन नै पारित गरेर सबैलाई निःशुल्क खोप दिने व्यवस्था गरेको हो ।
नयाँ कानुन अनुसार १२ करोड ६० लाख मानिसलाई कोरोनाविरुद्धको खोप लगाउनका लागि दुवै सदनबाट बजेट समेत पारित गरिएको छ । सरकारले छ करोड मानिसका लागि औषधी उत्पादक संस्था फाइजरबाट खोप ल्याउने सुनिश्चित गरिसकेको छ भने बाँकी दुई करोड ५० लाख मानिसका लागि अमेरिकी बायोटेक फर्म मोडर्नासँग सम्झौता गरेको छ ।
त्यसैगरी १२ करोड मानिसलाई पुग्ने गरी अस्ट्राजेनिकाको खोप ल्याउने तयारी भएको अधिकारीहरुले जनाएका छन् । फाइजर र मोडर्नाले कोरोनाविरुद्धको खोप आपत्कालिन प्रयोगका लागि अमेरिका र युरोपमा यसअघि नै अनुमति मागेका छन् । चिकित्सकीय परिक्षणबाट दुवैको खोप प्रभावकारी पुष्टि भइसकेको छ ।





























प्रतिक्रिया