काठमाडौँ । अमेरिकाका ३९औँ राष्ट्रपति जिमी कार्टरको निधन भएको छ । आइतबार साँझ जर्जियाको प्लेन्सस्थित आफ्नै निवासमा १०० वर्षको उमेरमा उनको निधन भएको हो । सन् १९७७ देखि १९८१ सम्म राष्ट्रपति भएका कार्टर १०० वर्ष बाच्ने अमेरिकाको पहिलो राष्ट्रपति समेत हुन् ।
राजनीतिमा प्रवेश गर्नुअघि उनी सामान्य किसान तथा अमेरिकी जल सेनाका लेफ्टिनेन्ट थिए । उनकी श्रीमती एलेनोर रोजालिन स्मिथको गत वर्ष नोभेम्बरमा मात्रै ९६ वर्षको उमेरमा निधन भएको थियो ।
वाटरगेट काण्ड र भियतनाम युद्धपछि राष्ट्रपति पद जित्ने बदाम किसान जिम्मी कार्टरले ह्वाइट हाउसको कार्यकालपछि विश्वव्यापी मानवतावादीको रूपमा जीवनलाई पुनः परिभाषित गरेका थिए । जुन घरमा उनी र उनकी श्रीमती रोजालिनले आफ्नो जीवनको अधिकांश समय बिताए, त्यही घर प्रवेश गरेको झण्डै २२ महिनापछि आइतबार जिमीले अन्तिम सास फेरेका हुन् ।
अमेरिकी नागरिकसँग कहिल्यै झुठो नबोल्ने बाचाकै कारण एक सामान्य बदाम किशानलाई विश्वकै शक्तिराष्ट्र अमेरिकाको कार्यकारी राष्ट्रपति बनायो । त्यति मात्रै नभई सोही प्रतापका कारण कार्टरले सबैभन्दा लामो आयु बाच्ने अमेरिकी राष्ट्रपतिको चरिचय पनि बनाए । हुन त व्यापारी, नौसेना अधिकारी, सुसमाचार प्रचारक, राजनीतिज्ञ, वार्ताकार, लेखक, काठकर्मी हुँदै कार्टरले एउटा यस्तो बाटो बनाए जसले अझै पनि राजनीतिक धारणाहरूलाई चुनौती दिन्छ र अमेरिकाको सर्वोच्च कार्यालयमा पुग्ने ४५ जना पुरुषमध्ये उनी एक हुन् ।
कार्टर, एक समय बदाम किसान जसले राष्ट्रपति हुँदा भियतनाम युद्धमा सामेल हुन अस्वीकार गर्ने अमेरिकी युवाहरूलाई माफी दिएका थिए । उनी जलवायु परिवर्तनलाई गम्भीरताका साथ लिने पहिलो अमेरिकी नेता थिए । अन्तर्राष्ट्रिय स्तरमा उनले इजरायल र इजिप्टबीच शान्ति सम्झौता गराउन महत्वपूर्ण भूमिका खेले पनि इरानमा बन्धक सङ्कट र अफगानिस्तानमा सोभियत सङ्घको आक्रमणजस्ता मुद्दामा उनले सङ्घर्ष गर्नुपरेको थियो ।
कार्टरले सन् १९७९ मा अमेरिकाले चीनसँग औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गर्ने घोषणा गरेर चीनसँग मित्रताको सुरुवात गरेका थिए । यसको अर्थ अमेरिकाले ताइवानसँगको सम्बन्ध तोड्नुपरेको थियो र ताइपेईको दूतावास बन्द गर्नुपरेको थियो ।
अब कुरा गरौं बदाम किसान जिमी कार्टरको कसरी समभव भयो ह्वाइट हाउस यात्रा ।
१ अक्टुबर १९२४ मा जर्जियाको सानो शहर प्लेन्समा जन्मेका जिमी कार्टर बुबाआमाका चार सन्तानमध्ये जेठा थिए । उनका दुई बहिनी र एक भाइ छन् । जिम्मीको पूरा नाम जेम्स अर्ल कार्टर जुनियर हो । जर्जियाको प्लेन्स नामक शहरमा रहेको भाइस क्लिनिक हस्पिटलमा उनको जन्म भएको थियो । त्यो हस्पिटलमा उनकी आमा नर्स थिइन् । उनका बुबा अर्ल कार्टरचाहिँ बदाम खेती गर्थे ।
कार्टरले सन् १९४१ मा प्लेन्स हाई स्कुलबाट १० कक्षाको पढाई पूरा गरेका थिए । स्कुलमा उनी बास्केटबलको उत्कृष्ट खेलाडी थिए । उनले सन् १९४१ मा जर्जिया साउथ वेस्टर्न कलेजमा उच्च शिक्षाको पढाइ सुरु गरे । तर, सन् १९४२ मा उनले उक्त कलेज छोडेर जर्जिया इन्स्टिच्युट अफ टेक्नोलोजीमा भर्ना लिए । सन् १९४३ मा उनले म्यारील्याण्डमा रहेको यूएस नेभल एकेडमीमा भर्ना पाए र सन् १९४६ मा त्यहाँबाट पास भएर निस्किए ।
यसपछि जिमी कार्टरले अमेरिकी नौसेनामा काम गर्न थाले । उनले ७ जुलाई १९४७ मा आफ्नी बहिनीकी साथी एलेनोर रोसालिन स्मिथसँग विवाह गरे । सोही वर्ष उनका छोरा जोन विलियम जन्मिए । सन् १९५० मा जेम्स अर्ल, १९५२ मा डोनल जेफ्फ्री र १९६७ मा छोरी एमी लिनको जन्म भयो ।
सन् १९५३ मा बुबाको मृत्यु भएपछि जिमी सात वर्षदेखि गरिरहेको जागिर छोडेर घर फर्किए । र, बुबाले गरिरहेको बदाम खेतीलाई निरन्तरता दिए ।
खेतीमा उनको पहिलो वर्ष निकै खराब रह्यो । त्यो वर्ष सुख्खायामले खेतीपाती बर्बाद भयो । तर, कार्टरले हिम्मत हारेनन् र किसानीलाई सफल बिजनेस बनाएरै छाडे । खेती गर्दागर्दै उनले राजनीतिमा पाइला राखेका थिए । सुरुमा उनले स्थानीय चुनाव जिते । जर्जियाबाट सिनेट चुनाव लड्नुअघि उनले पुस्तकालय बोर्डको चुनाव जितेका थिए ।
उनलाई सन् १९६२ मा जर्जिया सिनेटमा चुनियो । १९६६ मा जर्जियाको गभर्नर पदका लागि उनी चुनाव लडे पनि हारे । त्यसको ४ वर्षपछि सन् १९७० मा उनी जर्जियाको गभर्नर पदका लागि चुनावमा उठेर जिते । दुईपल्ट सिनेट चुनिएपछि उनी गभर्नर बनेका थिए । यसपछि उनले नागरिक अधिकारका लागि काम गरे । यसबाट उनले थप लोकप्रियता बटुले ।
यही माहोलका बीच सन् १९७६ मा कार्टर डेमोक्रेटिक पार्टीको उम्मेद्वारको रूपमा संयुक्त राज्य अमेरिकाको राष्ट्रपति निर्वाचनमा होमिए, र विजय हासिल गरे । आफूलाई वाशिंगटन राजनीतिक प्रतिष्ठान बाहिर एक राजनीतिज्ञको रूपमा प्रस्तुत गर्दै उनले ठूलो सफलता हात पारे ।
एक समय, जब देशले वाटरगेट घोटालापछि विश्वास पुनः प्राप्त गर्न खोजिरहेको थियो, त्यसबेला उनले सम्पूर्ण ध्यान मानव अधिकार र अन्तर्राष्ट्रिय कुटनीतिमा ध्यान केन्द्रित गरे । र, उनको सबैभन्दा उल्लेखनीय उपलब्धिहरू मध्ये सन् १९७८ को क्याम्प डेभिड सम्झौता समेत हो । जसले इजिप्ट र इजरायलबीचको शान्तिलाई सहज बनायो भने सन् १९७७ को टोरिजज सन्धिले पनामा नहरको नियन्त्रण पनामालाई नै हस्तान्तरण गरिदियो ।
राष्ट्रपति रहँदा उनले इरानको बन्धक संकट र उच्च मुद्रास्फीति र बेरोजगारीसहित घरेलु आर्थिक समस्याहरू जस्ता चुनौतीको सामना गर्नु परेको थियो । उनले ऊर्जा संकटबाट देशलाई निकाल्न भन्दै कडा कदम उठाए, जसमा पेट्रोल–डिजेलको नियन्त्रण पनि थियो । तर, संसदमा यसको ठूलै विरोध भयो ।
युनिभर्सल हेल्थकेयर सिस्टम पनि संसदबाट पारित हुन सकेन र बेरोजगारी र ब्याजदरमा आएको उछालले कार्टरको चुनौती बढाइदियो । उनले बन्धक संकटका क्रममा इरानसँग कूटनीतिक सम्बन्ध तोडिदिएका थिए । उनको कार्यकालमा अमेरिकाले इरानमाथि कैयौँ प्रतिबन्ध लगाएको थियो ।
यही विरोधका बीच आफ्नो राष्ट्रपति कार्यकाल सकेर जिमी फेरि राष्ट्रपतिको चुनाव त लडे तर, रोनाल्ड रेगनसँग नमिठो हार व्यहोरे । सन् १९८० मा भएको त्यो चुनावमा उनले ६ राज्यमा मात्र जित्न सके र राजनीतिबाट किनारा लागे । रिटायर्ड भएपछि उनले एक सामान्य जीवनशैली अपनाए । राष्ट्रपतिकालदेखि उनी भन्थे, ‘मलाई पैसा कमाउनु छैन ।’
ह्वाइट हाउस छाडेपछि कार्टरले आफूलाई मानवीय र शान्ति–प्रवद्र्धन गतिविधिहरूमा समर्पित गरे । सन् १९८२ मा, उनले कार्टर सेन्टर स्थापना गरे । कार्टर सेन्टर, मानव अधिकारको रक्षा, अन्तर्राष्ट्रिय द्वन्द्वहरूमा मध्यस्थता र विभिन्न देशहरूमा चुनावी प्रक्रियाहरूको पर्यवेक्षणमा केन्द्रित गैर–सरकारी संस्था हो । जुन कार्यले उनलाई २००२ मा नोबेल शान्ति पुरस्कार दिलाएको थियो ।
जिमी कार्टर नेपालका पनि निकै सहयोगी मित्र थिए । उनले नेपालमा पाँच पटक भ्रमण गरे, जसले नेपाल र अमेरिकाबीचको सम्बन्धलाई थप प्रगाढ बनाएको थियो । उनी सन् १९८५ मा पहिलो पटक नेपाल आएका थिए । जस क्रममा उनले ग्रामीण विकास र स्वास्थ्य सेवाका परियोजनाहरूको निरीक्षण गरे । त्यसपछि उनी सन् २००७ मा दुईपटक नेपाल भ्रमणमा आए ।
पहिलो भ्रमणमा उनले नेपालका ग्रामीण समुदायसँग भेटघाट गरेका थिए । यसैगरी दोस्रो भ्रमणमा नेपालको शान्ति प्रक्रियामा सहयोग पु¥याउन उनको कार्टर सेन्टरको तर्फबाट महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । सन् २००८ मा उनले नेपालको संविधानसभाको निर्वाचन पर्यवेक्षण गर्न नेपाल आए, जसले लोकतान्त्रिक प्रक्रियामा ऐतिहासिक योगदान पु¥यायो।
त्यसपछि सन् २०१३ मा उनको भ्रमणले स्वास्थ्य तथा ग्रामीण विकासका परियोजनाहरूमा कार्टर सेन्टरको भूमिकालाई सुदृढ गरेको थियो। पछिल्लोपटक सन् २०१५ मा नेपाल आएका उनले भूकम्पपछिको पुनर्निर्माण र राहतकार्यमा पनि चासो दिएका थिए । सोहीअनुसार नेपालले अमेरिकाको साथ र सहयोग पनि पाएको थियो ।





























प्रतिक्रिया