खान युनिस, प्यालेस्टाइनी क्षेत्र । हमासले गाजा युद्ध सुरु भएदेखि इजरायलमा व्याप्त अग्निपरीक्षाको प्रतीक बनेका बिबास परिवारसहित चार जना इजरायली बन्धकको शव रहेको कफिन बिहीबार हस्तान्तरण गरेको छ ।
सन् २०२३ अक्टोबर ७ मा इजरायलमाथि भएको आक्रमणपछि हमासले पहिलो पटक शव हस्तान्तरण गरेको हो । यो हमास र इजरायली पक्षबीच जनवरी १५ मा सहमति गरिएको र जनवरी १९ मा कार्यान्वयनमा आएको युद्धविराम सम्झौताअन्तर्गत भइरहेको छ । बदलामा इजरायली जेलमा रहेका जीवित प्यालेस्टिनी बन्दीको आदानप्रदान हुनेछ ।
दुई छोराहरू केफिर र एरियलसहित शिरी बिबास तथा ओडेद लिफशिट्जको शव फिर्ता गर्ने समारोह दक्षिणी गाजा शहर खान युनिसबाट भएको हो । हस्तान्तरण गर्नुअघि हमासले बलौटे जमिनमा बनाइएको मञ्चमा चारवटा कालो कफिन प्रदर्शन गरेको थियो ।
प्रत्येक ‘कास्केट’मा मृतकको सानो फोटो राखिएको र कफिनको छेउमा राखिएका सेतो नक्कली क्षेप्यास्त्रमा अमेरिकी बमले मारिएका लेखिएको छ । इजरायली सेनाले ‘बन्धकहरूको शव’ आफू र गाजास्थित शिन बेट आन्तरिक सुरक्षा एजेन्सीलाई हस्तान्तरण गरिएको बताएको छ ।
हमासले बिबास परिवारको अपहरणका समय गरेको भिडियो प्रसारणमा आमा र उनका छोराहरू चार वर्षीय एरियल र केवल नौ महिनाका केफिरलाई गाजा सीमा नजिकैको उनीहरूको घरबाट जफत गरिएको देखिएको थियो ।
केटाहरूका बुबा र शिरीका पति यार्डेन बिबासलाई सोही दिन छुट्टाछुट्टै अपहरण गरिएको थियो र फेब्रुअरी १ मा गाजा पट्टीबाट बन्धक–कैदी आदानप्रदानमा रिहा गरिएको थियो। -एएफपी





























प्रतिक्रिया