साना । अमेरिकी सेनाले यमनको हुथी विद्रोहीलाई लक्षित गरी शुक्रबार गरेको आक्रमणमा कम्तीमा ७४ जनाको मृत्यु भएको हुथी समूह निकट अल मसिराह टिभीले जनाएको छ । आक्रमणमा कम्तीमा १२५ जना घाइते भएका छन् ।
आक्रमणपछि दिइएको प्रारम्भिक जानकारीमा आक्रमणबाट हुथी समूहको नियन्त्रणमा रहेको इन्धन बन्दरगाह ध्वस्त भएको छ । रास इसा इन्धन बन्दरगाहमा भएको आक्रमणको उद्देश्य इरान समर्थित हुथी विद्रोहीका लागि आपूर्ति र कोषको स्रोत बन्द गर्नु रहेको अमेरिकी सेनाले जनाएको छ ।
रेड सी र एडेनको खाडीमा रहेका असैन्य पानीजहाज र सैन्य जहाजमाथिको आक्रमणलाई अन्त्य गर्न सकियोस् भनी वासिङ्टनले मार्च १५ देखि हुथी विद्रोहीमाथि दैनिकजसो हवाई आक्रमण गर्दै आएको छ ।
विद्रोहीहरूले सन् २०२३ को अन्त्यतिर गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यबद्धता जनाउँदै आक्रमण सुरु गरेका थिए । इजरायली सेनाले अमेरिकी आक्रमणपछि यमनबाट आउँदै गरेको क्षेप्यास्त्रलाई रोकेको शुक्रबार जनाएको छ ।
अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम) ले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “अमेरिकी सेनाले इरान समर्थित हुथी ‘आतङ्ककारी’का लागि इन्धनको यो स्रोतलाई समाप्त गर्न र उनीहरूलाई अवैध राजस्वबाट बञ्चित गर्न कदम चालेको छ । दश वर्षभन्दा बढी समयदेखि जहाजहरूलाई आतङ्कित पार्ने हुथी प्रयासविरूद्ध आर्थिक सहयोग गरेको छ ।”
“वासिङटनले यस वर्षको सुरुमा विद्रोहीलाई विदेशी आतङ्कवादी सङ्गठन घोषणा गरे पनि अमेरिकी लगानीका जहाजहरूले ‘रास इसा’ बन्दरगाहमार्फत इन्धन आपूर्ति जारी राखेका छन्,” सैन्य कमान्डले इन्धनको स्रोत निर्दिष्ट नगरीकन उल्लेख गरेको छ ।
हुथी स्वास्थ्य मन्त्रालयका प्रवक्ता अनीस अलासबाहीले पाँच जना प्यारामेडिक्ससहित २० जनाको मृत्यु भएको पुष्टि भएपनि मृतकको सङ्ख्या यो भन्दा निकै बढी भएको बताए । “अमेरिकी आक्रमणपछि रास इसा तेल बन्दरगाह आक्रमणमा कम्तीमा ५० जना कामदार र कर्मचारीहरू घाइते भएका छन्,” उनले सामाजिक सञ्जाल एक्समा जारी सन्देशमा उल्लेख छ ।
उनले भने, “केही मृत शरीरका अंगहरुको पहिचान हुन बाँकी छ । मृतकको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ।” -एएफपी





























प्रतिक्रिया