गोयाङ, दक्षिण कोरिया । दक्षिण कोरियाको प्रमुख विपक्षी दलले आफ्ना पूर्व नेता ली जाए–म्युङलाई आगामी जुन महिनामा हुने राष्ट्रपतीय निर्वाचनका लागि आफ्नो उम्मेदवारका रुपमा घोषणा गरेको छ ।
पार्टीमा ८९.७ प्रतिशत मत प्राप्त गरी राष्ट्रपतिको उम्मेदवारका लागि चुनिएका लीले डेमोक्र्याटिक पार्टीको प्रतिनिधित्व गर्छन् । उनले युनको कन्जरभेटिभ पार्टी पिपुल पावर पार्टी (पिपिपी) का उम्मेदवारविरुद्ध प्रतिस्पर्धा गर्नेछन् ।
गत डिसेम्बरमा संसद्मा सशस्त्र सैनिक तैनाथ गरिएको प्रजातान्त्रिक देशमा सैन्य शासन लाद्ने प्रयास गरेको भन्दै युनको अधिकार खोसेपछि जुन ३ मा मध्यावधि निर्वाचन गर्ने घोषणा गरिएको थियो ।
युनको सैनिक शासनको आदेशको विरोधमा सांसदहरूले आदेशको अवहेलना गर्दै संसद्मा प्रवेश गरी युनको असंवैधानिक कदमविरूद्ध मतदान गरेपछि लगभग छ घण्टापछि उनले आफ्नो कदम फिर्ता लिएको घोषणा गरेका थिए । यद्यपि, उक्त कदमलाई लिएर पूर्व राष्ट्रपति युनविरूद्ध संसद्बाट महाभियोगको प्रस्ताव पारित भएको थियो ।
राजधानी सोलको उत्तरपश्चिममा पर्ने गोयाङमा आयोजित पार्टीको अधिवेशनमा लीले भने, “जनताले मलाई भारी विजय हासिल गरेर सत्ता पुनः प्राप्त गर्ने, विद्रोह र प्रतिगमनको पुरानो युगको अन्त्य गर्ने मिसन सुम्पेका छन् ।”
उनले थपे, “म साँच्चिकै आशा र जोशले भरिएको वास्तविक गणतन्त्र कोरियाको थप विकास गरेर तपाईंको विश्वासको ऋण तिर्नेछु ।” सन् २०२२ को राष्ट्रपतीय चुनावमा नेता लीले हालै महाभियोगपछि पदच्युत भएका युनसँग देशको इतिहासकै सबैभन्दा कम मतान्तरले पराजित भएका थिए ।
पछिल्लो ग्यालप सर्वेक्षणले लीलाई ३८ प्रतिशतको समर्थन दिएको छ भने अन्य सबै प्रतिस्पर्धीको पक्षमा समर्थन निकै थोरै (एकल अङ्क) मा रहेको छ । पिपिपीले शनिबार आफ्नो उम्मेदवारको नाम सार्वजनिक गर्ने कार्यक्रम छ ।
पिपिपीका पूर्व प्रमुख हान दोङ–हुन र युन सरकारका पूर्व श्रममन्त्री किम मुन–सो उक्त पार्टीको तर्फबाट उम्मेदवारी दिने तयारीमा छन् । -एएफपी





























प्रतिक्रिया