सान फ्रान्सिस्को । पूर्व अमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले नोभेम्बरको चुनाव हारेपछि आफ्नो पहिलो प्रमुख भाषणमा राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थकहरूको आलोचना गरेकी छन् ।
पराजित डेमोक्रेट ह्यारिसले समर्थकहरूलाई पछिल्ला तीन महिनाको देखिएको ‘अराजकता’ वास्तवमा कन्जरभेटिभहरूको लामो समयदेखि चाहेको योजनाको प्रतिफल हो भन्दै ट्रम्पले संयुक्त राज्य अमेरिकालाई आफ्नै फाइदाका लागि प्रयोग गरिरहेको बताएकी हुन् ।
“वास्तवमा, हामी जे देखिरहेका छौँ त्यो एक उच्च गतिको घटना हो, जहाँ दशकौँदेखि बनाइरहेको एजेन्डाको द्रुत कार्यान्वयनका लागि एउटा माध्यम प्रयोग भइरहेको छ”, उनले सान फ्रान्सिस्कोमा श्रोताहरूलाई भनिन्, “सार्वजनिक शिक्षामा कटौती गर्ने एजेन्डा, सरकारलाई सङ्कुचित गर्ने र त्यसपछि यसका सेवाहरूको निजीकरण गर्ने एजेन्डा, सबैभन्दा धनीलाई कर छुट दिइरहेका छन्, अमेरिकाको एक साँघुरो, स्वार्थी दृष्टिकोण जहाँ उनीहरूले सत्य बोल्नेहरूलाई दण्डित गर्छन्, वफादारहरूलाई पक्षपात गर्छन्, आफ्नो शक्तिको दुरुपयोग गर्छन् र सबैलाई आफ्नै भरमा छाड्छन् ।”
ट्रम्पका समर्थकहरूले केही द्रुत परिवर्तनहरूको प्रशंसा गरेका छन्, तर हालैका सर्वेक्षणले देशको बहुमत राजनीतिक र आर्थिक हलचलप्रति विशेष गरी उहाँको बारम्बार परिवर्तन हुने भन्सार शुल्कबाट निराश हुँदै गएको देखाएको छ ।
सन् २०२६ मा आफ्नो गृहराज्य क्यालिफोर्नियाको गभर्नर पदको दौड वा सन् २०२८ मा ह्वाइट हाउसको सम्भावित दौडका लागि विचार गरिरहेकी ह्यारिस जनवरीमा वासिङ्टन छोडेपछि धेरै हदसम्म चर्चाबाट टाढा रहेकी छन् ।





























प्रतिक्रिया