कोलम्बो । माल्दिभ्सका राष्ट्रपति मोहम्मद मुइज्जुले करिब १५ घण्टासम्म पत्रकार सम्मेलन गरी युक्रेनी नेता भोलोदिमिर जेलेन्स्कीको यसअघिको रेकर्ड तोडेका छन् ।
मुइज्जुले स्थानीय समयअनुसार शनिबार बिहान १०ः०० बजे सुरू गरेको पत्रकार सम्मेलन १४ घण्टा ५४ मिनेटसम्म चलेर सकिएको हो । “राष्ट्रपति मुइज्जुले पत्रकारका प्रश्नको निरन्तर जवाफ दिँदै सम्मेलन मध्यरातसम्म लम्बिएको र यो उहाँले राष्ट्रपतिका रूपमा बनाएको नयाँ विश्व कीर्तिमान भएको छ,” विज्ञप्तिमा भनिएको छ।
सन् २०१९ को अक्टोबरमा युक्रेनको नेसनल रेकड्र्स एजेन्सीले जेलेन्स्कीको १४ घण्टे पत्रकार सम्मेलनले बेलारुसका प्रभावशाली नेता अलेक्जेन्डर लुकासेन्कोको सात घण्टाभन्दा लामो रेकर्ड तोडेको दाबी गरेको थियो ।
मालदिभ्स सरकारले मुइज्जुको विस्तारित सत्रलाई शनिबार विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा मनाउने उद्देश्यले आयोजना गरिएको जनाएको छ । उनले समाजमा प्रेसको महत्वपूर्ण भूमिकालाई स्वीकार गर्दै तथ्यपरक, सन्तुलित र निष्पक्ष रिपोर्टिङको महत्वमा जोड दिएका छन् ।
लामो सत्रको दौडान मुइज्जुले पत्रकारमार्फत जनताका सदस्यहरूले सोधेका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।
सन् २०२३ मा सत्तामा आएका मुइज्जुको नेतृत्वमा माल्दिभ्स रिपोर्टर्स विदाउट बोर्डर्स (आरएसएफ) ले प्रकाशित गरेको सन् २०२५ को विश्व प्रेस स्वतन्त्रता सूचकाङ्कमा १८० देशमध्ये दुई स्थान माथि चढ्दै १०४औँ स्थानमा पुग्न सफल भएको छ ।
शनिबारको सत्रमा उनले पत्रकार र उनीहरूमार्फत् जनताको विभिन्न प्रश्नको जवाफ दिएको विज्ञप्तिमा उल्लेख छ ।
मुइज्जुका पूर्ववर्ती मोहम्मद नसिदले सन् २००९ मा समुद्रको सतह बढ्न सक्ने खतरालाई उजागर गर्न पहिलो पटक ‘पानीमुनि मन्त्रीपरिषद्को बैठक’ आयोजना गरेर अर्को विश्व रेकर्ड कायम गरेका थिए ।





























प्रतिक्रिया