काठमाडौं । छिमेकी दुई ठूला राष्ट्र भारत र पाकिस्तान फेरि एकपटक ‘युद्ध’को संघारमा पुगेका छन् । हालै, जम्मू–कश्मीरको पहलगाममा भएको आतंकवादी हमलामा २५ भारतीय र एक नेपाली नागरिकसहित २६ जनाको मृत्यु हुने गरी भएको आतंकवादी हमलाको जवाफ स्वरुप भारतले पाकिस्तान माथी ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही सञ्चालन गर्यो, जसले दुई परमाणु शक्ति सम्पन्न राष्ट्रहरूबीच युद्धको सम्भावनालाई झनै बढाएको छ।
२६ जना नागरिकको हत्या भएको पहलगाम हमलापछि जवाफी कारवाही स्वरुप भारतले सिन्धु जल सन्धि निलम्बन गर्ने, पाकिस्तानी नागरिक र कूटनीतिज्ञहरूलाई देश छोड्न आदेश दिने, र अटारी–वाघा सीमा बन्द गर्ने जस्ता कथोर कदमहरू चाल्यो। यसैबीच, भारतले भारतीय सेना, वायुसेना र नौसेनाको संयुक्त समिश्रणमा‘अपरेशन सिन्दुर’नामक सैन्य कारबाही गर्दै पाकिस्तानका बहावलपुर, कोटली र मुजफ्फराबाद जस्ता ९ आतंककारीहरुको क्षेत्रलाई केन्द्रित गर्दै राती करिब साढे एक बजेदेखि भारतीय सेनाले सुसाइड ड्रोनसहित सटीक हतियार प्रणालीहरूको प्रयोग गरेको दावी गरेको छ । जसले आतंकवादी शिविरहरूलाई मात्र निशाना बनाएको र पाकिस्तानी सैन्य इलाकालाई कुनै क्षति नपुर्याएको भारतीय सैनिकले बताएका छन्।
यो कारबाही पहलगाम हमलाको जवाफमा केन्द्रित थियो, जसमा १०० भन्दा बढी आतंकवादी मारिएको भारतीय सञ्चारमाध्यमहरुले दाबी गरेका छन् ।
अपरेशन सिन्दुरलाई पाकिस्तानले आफ्नो सार्वभौमसत्तामाथिको आक्रमण मानेको छ भने भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले यो कारबाहीलाई आतंकवादविरुद्ध भारतको ‘शून्य सहनशीलता’ नीतिको हिस्सा भनेका छन्।
दुवैले आफू अनुकूल तर्क दिएता पनि यो कारबाहीले दक्षिण एशियाको भू–राजनीतिक परिदृश्यमा आगोमा घ्यू थप्ने काम गरेको छ । यसका साथैं भारतले पाकिस्तानी भू–भागमा मिसाइल आक्रमण गर्दै अनौपचारिक रुपमा युद्धको संखघोष पनि गरेको छ । यो कारबाहीले दुई देशबीचको तनावलाई नयाँ उचाइमा पुर्याएको छ, जसले विश्व समुदायको निद्रा खोसेको छ ।
यस्तोमा यदि यी दुई देशबीच महायुद्ध भएको खण्डमा कुन देशको पल्ला भारी होला ? हवाई, जल, थल, र आणविक हतियारसहित सबैभन्दा बढी रक्षात्मक बजेट कुन देशसँग छ भनेर हामीले यो रिपोर्ट मार्फत चिरफार गरेका छौं । स्मरणीय रहोस् कि दुवै देश आणविक शक्ति सम्पन्न हुन्, जसले गर्दा यदि युद्ध भई हाले त्यसले विश्वसमुदायमा निकै डरलाग्दो अवस्था निम्त्याउन सक्छ।
सबैभन्दा पहिला कुरा गरौं, भारतिय डिफेन्स बजेटको, एक रिपोर्ट अनुसार सन् २०२५ मा भारतको डिफेन्स बजेट करिब ८१ अर्ब अमेरिकी डलर रहेको अनुमान गरिएको छ । यतिधेरै रकम भारतले आधुनिक हतियार खरिद, स्वदेशी रक्षा प्रणाली र अत्याधुनिक प्रविधि विकासमा खर्चदै आएको छ। अर्कोतर्फ पाकिस्तानको डिफेन्स बजेट भने जम्मा १० देखि १२ अर्ब अमेरिकी डलर मात्र रहेको बताइन्छ। तसर्थ डिफेन्स बजेटमा भारत पाकिस्तान भन्दा लगभग सात गुणाले बढी खर्च गर्दै आएको छ । अर्कोतर्फ आर्थिक कमजोरीका कारण पाकिस्तान भने मूख्य रुपमा चीन र अमेरिकाबाट प्राप्त हतियार र सहायतामै निर्भर देखिन्छ ।
डिफेन्स बजेटपछि कुनै पनि देशको सेनाको संख्या उनीहरुले प्रयोग गर्ने आधुनिक हतियार के कति छ भनेर त्यो देशको शक्तिको मापन गर्न सकिन्छ । यस्तोमा भारत र पाकिस्तानबीच महायुद्ध भएको खण्डमा बजेटपछि सैनिक संख्यामा पनि भारतले पाकिस्तानलाई सहजै हराउने छ, किनभने भारत विश्वको दोस्रो ठूलो धेरै सैनिक भएको देश हो। जहाँ करिब १.४५ मिलियन सक्रिय र १.१५ मिलियन रिजर्भ र १.४ मिलियन अर्धसैनिक बल रहेका छन् ।
यसका साथै भारतसँग झण्डै १.५ लाख बख्तरबन्द सवारी साधन, १०० सेल्फ प्रोपेल्ड आर्टिलरी र ३ हजार ९ सय ७५ वटा बाह्य सहायताका भरमा चल्ने आर्टिलरीका साथै, २६४ वटा मल्टी ब्यारल रकेट आर्टिलरी र कुल ८९९ वटा हेलिकप्टर रहेका छन्।
अर्कोतर्फ पाकिस्तानसँग भने करिब ६.५ लाख सक्रिय र करिब ५ लाख रिजर्भ सैनिक रहेको अनुमान गरिन्छ। यसका साथैं पाकिस्तानसँग ५७ लडाकु हेलिकप्टरका साथ ३७३ हेलिकप्टरसहित कुल १ हजार ३ सय ९९ वटा विमानहरू रहेका छन्।
डिफेन्स बजेट, सैनिक संख्यापछि वायुसेनामा पनि भारत पाकिस्तानभन्दा कैयौं गुणा शक्तिशाली देखिन्छ । भारतीय मिडियाहरुका अनुसार भारतसँग हाल २ हजारभन्दा बढी वायुसेनाका विमानहरू छन् । जसमा राफेल, सुखोई–३० एमकेआई, तेजस, र मिग–२९ जस्ता आधुनिक लडाकु विमानहरू समावेश छन्। यसका साथैं भारतसँग अत्याधुनिक ड्रोन प्रविधि र हवाई रक्षा प्रणाली एस–४०० पनि उल्लेख्य मात्रामा रहेको छ।
अर्कोतर्फ पाकिस्तानी वायुसेनासँग करिब ८०० विमानहरू छन् । जसमा मुख्य रूपमा अमेरिकी एफ–१६, चिनियाँ जे–१० र जेएफ–१७ समावेश छन्। यदि पाकिस्तान र भारतबीच हवाई युद्ध भएको खण्डमा पाकिस्तानको ८ सयविरुद्ध भारतले २ हजारको संख्यामा अत्याधुनिक विमान उतार्ने पक्का छ ।
डिफेन्स बजेट, सैनिक संख्यापछि कुनै पनि देशको शक्तिको मापन त्यो देशमा रहेको नौसेना शक्तिसँग तुलना गरी हेरिन्छ । नौसेना शक्तिमा पनि भारत पाकिस्तान भन्दा कैयौं गुणा शक्तिशाली देखिन्छ किनभने भारतसँग १५० वटाभन्दा बढी युद्धपोतहरू छन्, जसमा विमानवाहक पोत (आईएनएस विक्रान्त), पनडुब्बीहरू (अरिहन्त–श्रेणी आणविक पनडुब्बी) र आधुनिक डिस्ट्रोयरहरू समावेश छन्। यसैगरी पाकिस्तानी नौसेनासँग करिब ३० वटा मात्र युद्धपोतका साथैं नौवटा फ्रिगेट, नौवटा कर्भेट, आठवटा पनडुब्बी र ६९ वटा गस्ती जहाज छन्।
सबै क्षेत्रमा भारत बलियो देखिएता पनि परमाणु हतियारमा भने पाकिस्तान भारतभन्दा केही अघि देखिन्छ ।
विभिन्न अन्तर्राष्ट्रिय रिपोर्टहरुका अनुसार भारतसँग अनुमानित १३० देखि १४० को संख्यामा आणविक हतियारहरू छन्। जहाँ अग्नि–५ मिसाइल ५ हजार किलोमिटरसम्मको दुरीमा मार हान्ने क्षमता राख्छ ।
अर्कोतर्फ पाकिस्तानसँग भने १४० देखि १५० वटाको संख्यामा आणविक हतियार रहेको बताइन्छ । जहाँ शाहिन–३ मिसाइलले २ हजार ७५० किलोमिटरसम्म मार हान्न सक्ने क्षमता राख्छ। आणविक हतियारको संख्यामा पाकिस्तान भारतभन्दा भलै केही अघि देखिएता पनि यी दुवै राष्ट्रले आणविक हतियारको प्रयोग गर्ने सम्भावना भने निकै कम देखिन्छ । किनभने आणविक हतियारको प्रयोगले दुई देशलाई मात्र नभएर सम्पूर्ण विश्वलाई नै तेस्रो विश्व युद्धमा ढकेल्ने उच्च सम्भावना छ ।
भारतको जवाफी कारवाही स्वरुप पाकिस्तानले भारतविरुद्ध हमलाको योजना पक्कै बनाउँदै होला ! किनभने भारत र पाकिस्तानबीचको तनावको इतिहास निकै लामो छ। १९४७ को विभाजनपछि कश्मीर विवादले दुई देशलाई पटक–पटक युद्धको किनारमा पुर्याएको छ। सन् १९४७, ६५, ७१ र ९९ मा प्रत्येक्ष कारगिल युद्ध भएको इतिहास छ । यसैगरी सन् २०१६ को उरी हमला र सन् २०१९ को पुलवामा हमलापछि भारतले सर्जिकल स्ट्राइक र बालाकोट एयरस्ट्राइक गरेको थियो। यसरी हेर्दा यी दुई देशबीचको तनाव यतिकै साम्य हुने सम्भावना निकै न्यून देखिन्छ।
अपरेशन सिन्दुरले भारत र पाकिस्तानबीचको तनावलाई नयाँ चरमोत्कर्षमा पुर्याएको छ। भारतको सैन्य र आर्थिक शक्ति पाकिस्तानको भन्दा बलियो छ, तर पाकिस्तानको आणविक क्षमता र रणनीतिक गठबन्धनले युद्धलाई जटिल बनाउन सक्छ। युद्धको सम्भावना टार्न दुवै देशले कूटनीतिक वार्ता र क्षेत्रीय सहयोगमा जोड दिनुपर्छ। नेपाल जस्ता तटस्थ राष्ट्रहरूले मध्यस्थताको भूमिका खेल्न सक्छन्। अन्तर्राष्ट्रिय समुदायले पनि यो तनावलाई कम गर्न सक्रिय भूमिका खेल्नुपर्छ, किनभने यो द्वन्द्व केवल दुई देशको मात्र नभई सम्पूर्ण विश्वको लागि खतरा हो।































प्रतिक्रिया