काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएका छन् । सरकारी उच्च अधिकारीहरुलाई सोमबार उनले राष्ट्रपतिमा निर्वाचित जो बाइडेनलाई सत्ता हस्तान्तरण प्रक्रिया शुरु गर्न निर्देशन दिएका हुन् । उनले यसअघि सत्ता हस्तान्तरण गर्न अस्वीकार गर्ने आशंका गरिँदै आएकोमा अहिले सत्ता हस्तान्तरणको प्रक्रिया शुरु गर्न निर्देशन दिएपछि सकारात्मक रुपमा हेरिएको छ ।
त्यस्तै छ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको महोत्तरीको बर्दिबासमा स्थानीयले प्रदर्शन गरेका छन् । विरोधमा उत्रिएका स्थानीयमाथि प्रहरीले चलाएको गोली लागेर तीन जना गम्भीर घाइते भएका हुन् । प्रहरीको गोली लागेर बर्दिबास बस्ने ३५ वर्षीय संजय भनिने बुद्धिराज न्यौपाने, अफताब आलम र श्याम कार्की घाइते भएको स्थानीयले जानकारी दिए ।
सरकारले कोभिड विरुद्धको भ्याक्सिन प्रमाणित भएर बजारमा आउने वित्तिकै नेपाली नागरिकले पनि प्रयोग गर्न पाउने गरि तयारी भएको जनाएको छ । विश्वप्रति—जैविक सचेतना सप्ताहका अवसरमा आयोजित कार्यक्रममा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अन्य देशका सर्वसाधारणका लागि उपलब्ध हुने वित्तिकै भ्याक्सिन नेपाल भित्र्याउन सम्पूर्ण तयारी भएको बताएका हुन् ।
त्यस्तैगरी चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारीले चलचित्र क्षेत्रलाई सञ्चालन गर्ने अनुमति दिन सरकारसँग माग गरेका छन् । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि लकडाउन भएपछि बन्द रहेका अधिकांश क्षेत्र अहिले खुलेपनि चलचित्र क्षेत्र खुल्न सकेको छैन् । त्यसैले चलचित्र छायांकन पनि प्रभावित भएको र यसबाट हजारौंको संख्यामा रहेका कलाकारहरुको जीविकोपार्जनमा समस्या भएको भन्दै अध्यक्ष अधिकारीले चलचित्र क्षेत्र सञ्चालन गर्ने व्यवस्था मिलाउन सरकारसँग आग्रह गरेका हुन् ।
सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को विवाद यतिबेला छताछुल्ल भएको छ । गत मंसिर २८ गते बसेको सचिवालय बैठकमा कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले एकलौटी रुपमा राजनीतिक प्रस्ताव पेश गरेका थिए । जसलाई सचिवालयका बहुमत (पाँच जना) सदस्यहरु राजनीतिक प्रस्ताव भन्दै आएका छन् । तर प्रधानमन्त्रीका प्रेस सल्लाहकार, नेकपा प्रचार विभाग उपप्रमुख एवं केन्द्रीय सदस्य सूर्य थापा उक्त प्रस्ताव अराजनीतिक भएको दाबी गर्छन । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..





























प्रतिक्रिया