युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति भएन -राष्ट्रपति ट्रम्प

युक्रेन युद्धविरामबारे पुटिनसँगको वार्तामा कुनै प्रगति भएन -राष्ट्रपति ट्रम्प

केन्द्रबिन्दु
27
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेन युद्ध अन्त्यका लागि रुसी नेता भ्लादिमिर पुटिनसँग भएको फोनवार्तामा कुनै प्रगतिको महसुस आफूले नगरेको बताएका छन् ।

वासिङ्टनले किएभमा केही हतियार ढुवानी रोकेपछि युक्रेनमा तीन वर्षभन्दा लामो समयदेखि जारी द्वन्द्व अन्त्यका लागि अमेरिकी नेतृत्वको शान्ति वार्ता रोकिएको ट्रम्पको गम्भीर आँकलन आएको हो ।

“हामी (पुटिन र अमेरिकी राष्ट्रपति ट्रम्प) ले धेरै लामो फोन संवाद गरेका छौँ । यो साँच्चै नै धेरै लामो कल थियो । फोनवार्तामा हामीले इरानसहित धेरै बिषयमा कुरा गर्‍यौँ र हामीले युक्रेनसँगको युद्धको बारेमा पनि कुरा गर्‍यौँ । म छलफलबाट खुसी छैन,” राष्ट्रपति ट्रम्पले गरेको पत्रकार सम्मेलनमा उनीहरूलाई भने ।

युद्ध अन्त्यका लागि कुनै सम्झौताको नजिक पुग्नुभएको छ कि भनेर सोधिएको प्रश्नको जवाफमा ट्रम्पले भने, “अहँ, मैले उहाँसँगको वार्तामा युक्रेन युद्धबारे कुनै प्रगति भएको महसुस गनै सकिन ।”

अमेरिकी रिपब्लिकन नेता ट्रम्पको यो संवादप्रतिको दृष्टिकोण असामान्य रूपमा निराशाजनक देखिएको छ । जनवरीमा सत्तामा फर्केपछि पुटिनसँग यसअघि भएका पाँच वटा वार्तापछि उनले सम्झौताको दिशामा प्रगतिको आशा देखिएको बताएका थिए ।

रुसी नेता पुटिनप्रति प्रारम्भिक दृष्टिकोण राखेपछि उनले युद्ध अन्त्यका लागि रूसी नेताको धारणाप्रति निराशा व्यक्त गरे । हालैका हप्ताहरूमा उनले इरान–इजरायल द्वन्द्वमा मध्यस्थता गर्ने पुटिनको प्रस्तावलाई अस्वीकार गरेका थिए भने पुटिनलाई युक्रेन युद्धमा ध्यान केन्द्रित गर्न सुझाब दिएका थिए ।

उक्त वार्ता करिब एक घण्टासम्म चलेको र पुटिनले रुसको लक्ष्यलाई नछोड्ने दृढता व्यक्त गरेकाे मस्कोबाट क्रेमलिन स्रोतले दिएको जानकारीमा उल्लेख गरिएको छ ।

क्रेमलिनका सहयोगी युरी उशाकोभले भने, “हाम्रा राष्ट्रपतिले रुसले तय गरेको लक्ष्य हासिल गर्ने बताउनुभएको छ । रुसले यी लक्ष्यहरु त्याग्ने छैन ।”

मस्कोले लामो समयदेखि युक्रेनमा आफ्नो अधिकतमवादी उद्देश्यलाई द्वन्द्वको ‘मूल कारण’ बाट छुटकारा पाउनको लागि भएको बताउँदै आएको छ, तर, किएभले उसको नाटोको सदस्यता प्राप्त गर्ने महत्वाकाङ्क्षाहरू त्याग्न माग गर्दै आएको छ।

Logo