इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

इरानद्वारा घरेलु र अन्तर्राष्ट्रिय उडानका लागि हवाई क्षेत्र खुला

केन्द्रबिन्दु
18
Shares

तेहरान । इरानले इजरायलसँगको युद्धका कारण जुन १३ मा बन्द गरिएको आफ्नो हवाई क्षेत्र पुनः खोलेको घोषणा गरेको सरकारी मिडियाले जनाएको छ ।

“मेहराबाद र इमाम खोमेनी विमानस्थलहरूका साथै देशको उत्तर, पूर्व, पश्चिम र दक्षिणका विमानस्थलहरू पुनः सञ्चालनमा ल्याइएको छ र उडान सेवाहरू प्रदान गर्न तयार छ”, आधिकारिक इरना समाचार एजेन्सीले भनेको छ ।

इस्फहान र तब्रिज विमानस्थल बाहेक देशका सबै विमानस्थलबाट घरेलु र अन्तर्राष्ट्रिय उडानहरू स्थानीय समयानुसार बिहान ५ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन गरिने अधिकारीहरूले बताएका छन् । साथै, इस्फहान र तब्रिज विमानस्थलको पूर्वाधार तयार भएपछि यी दुई विमानस्थल पनि देशको हवाई यातायात नेटवर्कमा सामेल हुनेछन् ।

यसैबीच, संयुक्त राज्य अमेरिकाले गत महिना इजरायल र इरानबीच युद्धविराम लागु भएपछि इरानी तेल निर्यातविरुद्ध बिहीबार नयाँ प्रतिबन्धको शृङ्खला जारी गरेको अल जजिराले जनाएको छ ।

प्रतिबन्धले लक्षित गर्नेहरूमध्ये इराकी व्यापारी सलिम अहमद सइद र उहाँको संयुक्त अरब इमिरेट्समा आधारित कम्पनी पनि छन् । सइदमाथि अमेरिकाले इराकी तेलमा मिसाएर इरानी तेल तस्करी गरेको आरोप लगाएको छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले एक विज्ञप्तिमा भने, “मन्त्रालयले तेहरानको राजस्व स्रोतहरूलाई लक्षित गर्न जारी राख्नेछ र यसको अस्थिर गतिविधिहरूलाई बढावा दिने वित्तीय स्रोतहरूमा शासनको पहुँचलाई अवरोध गर्न आर्थिक दबाब बढाउनेछ ।”

यस वर्षको जुनमा इजरायल र अमेरिकाले हवाई आक्रमणको लहर सुरु गरेपछि इरानले आफ्नो हवाई क्षेत्र पूर्ण रूपमा बन्द गरेको थियो । इजरायल र अमेरिकाले आक्रमण गरेपछि इरानले जवाफी क्षेप्यास्त्र प्रहार गरेको थियो ।

इजरायलले जुन १३ मा इरानमाथि गरेको लक्षित आक्रमणमा शीर्ष इरानी सेना र सुरक्षा अधिकारीहरू मारिएका थिए । सोही दिन इरानले इजरायली कब्जामा रहेका क्षेत्रहरूमा क्षेप्यास्त्र र ड्रोनद्वारा लक्षित गरी जवाबी कारबाही गरेको थियो ।

जुन २२ मा अमेरिका इजरायली अभियानमा सामेल भयो र तीन इरानी आणविक सुविधाहरू–नातान्ज, इस्फहान र फोर्डोमा आक्रमण गर्‍यो । त्यसको एक दिनपछि इरानले कतारमा रहेको अमेरिकी वायु सेनाको केन्द्रीय कमान्डको मुख्यालय पश्चिम एसियामा रहेको अमेरिकाको सबैभन्दा ठूलो सैन्य अड्डामा क्षेप्यास्त्र प्रहार गरेर जवाफ दियो । त्यसको एक दिनपछि जुन २४ मा दुई देशबिच युद्धविराम भएको थियो ।

Logo