बैङ्कक । थाइल्यान्डले बिहीबार कम्बोडियासँगको आफ्नो सबै सीमाहरू बन्द गर्ने घोषणा गरेको छ । कम्बोडियाली सेनाको रकेटले दुई देशको सीमा क्षेत्रमा प्रहार गरेको ‘नागरिक लक्षित आक्रमण’ मा कम्तिमा तीन जना घाइते भएको थाई सेनाले बताएको छ ।
सामाजिक सञ्जालमा उप–रक्षामन्त्रीले लडाइँको पुष्टि गर्दै सेनालाई पूर्ण परिचालन अधिकार प्रदान गरेको थाइल्यान्डको राष्ट्रिय प्रसारण सेवाले जनाएको छ । सूचना विभागका महानिर्देशक तथा विदेश मन्त्रालयका प्रवक्ता निकोन्र्डेज प्लाङ्कुरले पत्रकार सम्मेलनमा यस्तो घोषणा गरेका हुन् ।
स्थानीय मिडियाले सुरिन प्रान्तको विवादित ता मुएन थोम मन्दिर नजिकै बाट लडाइँ सुरु भएको रिपोर्ट गरेको छ । कम्बोडियाली सेनाले थाई सीमामा आक्रमण गरेको थाई सेनाले जनाएको छ ।
कम्बोडियाले ता मुएन थोम भग्नावशेषबाट करिब दुई सय मिटर पूर्वमा थाइल्यान्ड सैन्य आधारतिर गोली हानेको सेनाको फेसबुक पेजलाई उद्धृत गर्दै बैंकक पोस्टले जनाएको छ । थाई सेनाले दुई देशको सीमा नजिकैको सुरिन प्रान्तको काप चोएङ जिल्लामा छ वटा एफ–१६ लडाकू जेट तैनाथ गरेको बताएको छ ।
द नेसनको रिपोर्टअनुसार सुरिन प्रान्तको ता मुएन थोम मन्दिर वरपरको क्षेत्रमा गोली चल्दा दुई थाई सैनिक घाइते भएका छन् । द्वन्द्वबाट प्रभावित क्षेत्रहरूमा ता मुएन थोम मन्दिर, ता क्वाई मन्दिर, चोङ बोक, प्रेह विहार, चोङ एन मा र चोङ चोम रहेका छन् ।
उबोन रत्चथानी प्रान्तको चोङ एन मा सीमा नजिकै भएको विस्फोटमा पाँच थाई सैनिक घाइते भएको एक दिनपछि आक्रमण भएको जनाइएको छ । कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले थाई सेनाले ओड्डर मिन्चे प्रान्तको ता मोने थोम र ता क्राबे मन्दिरहरूमा कम्बोडियाली सैन्य स्थानहरूमा आक्रमण गरेको र आफ्नो आक्रमणलाई मोम बेइ क्षेत्रमा विस्तार गरेको बताएका छन् । -एएनआई





























प्रतिक्रिया