जेनेभा । संयुक्त राज्य अमेरिकामा ८२९ किलोमिटर (५१५ माइल) सम्म फैलिएको सबैभन्दा लामो दूरीको चट्याङ पर्दा निस्कने बिजुलीको प्रकाश (सौदामिनी)को नयाँ विश्व रेकर्ड घोषणा गरिएको छ ।
विश्व मौसम विज्ञान सङ्गठनका अनुसार सन् २०१७ को अक्टोबर २२ मा पूर्वी टेक्सासदेखि मिसोरीको कन्सास सिटी नजिकको क्षेत्रमा उक्त चट्याङबाट उत्पन्न बिजुलीको चमक देखिएको थियो । सङ्गठनको संयुक्त राज्य अमेरिका, ब्राजिल, जर्मनी, स्पेन, नेपाल, इजरायलमा रहेका विज्ञहरूको ११ सदस्यीय समितिले नयाँ रेकर्ड प्रमाणित गरेको छ ।
संयुक्त राष्ट्रसङ्घको मौसममामिला निकाय (डब्लूएमओ)का अनुसार सन् २०१७ को अक्टोबर २२ को लामो विशाल चट्याङ (मेगाफ्ल्याश) ले महाकाय विद्युतीय शक्ति उत्पन्न गरेको थियो । यो चट्याङ प्रकाशको दू्री यति लामो थियो कि चट्याङ परेको क्षेत्रलाई पार गर्न सामान्यतया एउटा कारलाई करिब आठदेखि नौ घण्टा र हवाइजहाजलाई करिब ९० मिनेटको समय लाग्छ ।
यसअघि, सन् २०२० अप्रिल २९ मा मिसिसिपी र टेक्सासको बीचमा ७६८ किलोमिटर लामो चट्याङ प्रकाशलाई विश्वको सबैभन्दा लामो चट्याङको रेकर्डका रूपमा सन् २०२२ मा प्रमाणित गरिएको थियो ।
अघिल्लो र नयाँ दुवै रेकर्डमा आठ किलोमिटर बढी वा कमी त्रुटि रहेको हुनसक्ने बताइएको छ । सन् २०१७ को आँधीले थुप्रै ठूला चट्याङका लहर निम्त्याएको थियो तर तीमध्ये तीन वटालाई ठूला र लामा (मेगाफ्ल्यास) चट्याङको रूपमा विश्लेषण गरिएको छ ।
इतिहासलाई पछाडि फर्केर हेर्दा र ऐतिहासिक आँधीको तथ्याङ्क पुनः परीक्षण गर्दा अहिलेसम्म बेवास्ता गरिएको ‘मेगाफ्ल्याश’ पत्ता लागेको पुष्टि गरिएको हो र यो सन् २०२० मा परेको चट्याङ्को चमकको लम्बाईभन्दा ठूलो थियो ।
डब्लूएमओका अन्य तीन चट्याङ रेकर्डअनुसार सबैभन्दा लामो अवधिको चट्याङ पर्दा निस्केको भिल्का (बिजुलीको चमक) सन् २०२० जुन १८ मा उरुग्वे र उत्तरी अर्जेन्टिनामा आँधीबेहरीको समयमा आएको थियो । यो १७.१०२ सेकेन्डको रहेको थियो । त्यस्तै सन् १९९४ मा इजिप्टको द्रोन्कामा तेलट्याङ्कीमा चट्याङ पर्दा अप्रत्यक्ष रूपमा ४६९ जनाको मृत्यु भएको थियो भने सन् १९७५ मा जिम्बाब्वेको एक झुपडीमा आँधबाट सुरक्षाका लागि भेला भएका २१ जनाको चट्याङ लागेर मृत्यु भएको थियो ।































प्रतिक्रिया