पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पकाे दाबी

पुटिनलाई ‘धेरै चाँडै’ भेट्ने सम्भावना रहेको ट्रम्पकाे दाबी

केन्द्रबिन्दु
12
Shares

वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग ‘चाँडै नै’ भेट हुनसक्ने बताएका छन् । ट्रम्पले आफ्ना विशेष दूत र रुसी राष्ट्रपतिबीच मस्कोमा भएको अत्यधिक फलदायी वार्ता भनेर वर्णन गरेपछि उनको यस्तो भनाइ आएको हो ।

सम्भावित शिखर सम्मेलनको चर्चा ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमर जेलेन्स्कीबीचको फोनवार्तामा गरिएको थियो । फोनवार्तामा किएभका एक वरिष्ठ स्रोतका अनुसार नाटो महासचिव मार्क रुट र बेलायत, जर्मनी र फिनल्यान्डका नेताहरू समेत सामेल थिए ।

युक्रेनी र रुसी नेताहरूलाई कहिले भेट्ने भनेर सोधिएको प्रश्नमा ह्वाइट हाउसमा बुधबार पत्रकारहरूलाई ट्रम्पले भने, “चाँडै नै बैठक हुने राम्रो सम्भावना छ ।” उनले पुटिनसँगको भेट कहाँ हुनसक्छ भन्नेबारे कुनै सङ्केत दिएनन् । सन् २०२१ जुनमा पूर्वराष्ट्रपति जो बाइडेनले जेनेभामा आफ्ना समकक्षीसँग भेट गरेपछि यो पहिलो अमेरिका–रुस नेतृत्वको शिखर सम्मेलन हुनेछ ।

न्युयोर्क टाइम्स र सिएनएनले योजनासँग परिचित व्यक्तिहरूलाई उद्धृत गर्दै ट्रम्पले अर्को हप्ताको सुरुमा पुटिनसँग बस्ने योजना बनाएको र त्यसपछि रुसी नेता र जेलेन्स्कीसँग त्रि–पक्षीय बैठक चाहेको बताएका छन् ।

“यस्तो देखिन्छ कि रुस अब युद्धविराममा सहमत हुन बढी इच्छुक छ; तिनीहरूमाथि दबाबले काम गरिरहेको छ । तर मुख्य कुरा यो हो कि उनीहरूले विवरणमा हामी वा संयुक्त राज्य अमेरिकालाई धोका नदिऊन्”, जेलेन्स्कीले बुधबार साँझ भने।

ट्रम्पको जेलेन्स्कीसँगको फोनवार्ता अमेरिकी दूत स्टिभ विटकफले दिनभर मस्कोमा रुसी नेतृत्वसँग भेट गरेपछि आएको हो । ट्रम्पले युक्रेनमा रुसको युद्धलाई लिएर नयाँ प्रतिबन्धहरू लगाउने समयसीमा नजिकिँंदै गर्दा उक्त भेटवार्तालाई क्रेमलिनले ‘फलदायी’ भनेर वर्णन गर्‍यो ।

“उत्कृष्ट प्रगति भयो!”, ट्रम्पले आफ्नो ट्रुथ सोसल प्लेटफर्ममा लेखेका छन् । “यो युद्ध समाप्त हुनुपर्छ भन्ने कुरामा सबै सहमत छन् र हामी आगामी दिन र हप्ताहरूमा त्यस दिशामा काम गर्नेछौँ ।” तर केही मिनेटपछि, एक वरिष्ठ अमेरिकी अधिकारीले ‘माध्यमिक प्रतिबन्धहरू’ अझै पनि दुई दिनमा लागू हुने अपेक्षा गरिएको बताए ।

Logo