टोकियो । जापानको युद्धकालीन खानीमा फेला परेका हड्डीहरू मानव अवशेष भएको प्रहरीले बुधबार बताएको छ ।
साथै, ती अवशेषहरू खोज्न मद्दत गर्ने एक जापानी समूहले ती अवशेष सन् १९४२ मा एक दुर्घटनामा मृत्यु भएका करिब एक सय ८० जना श्रम गर्न बाध्य पारिएका प्रायः कोरियाली मजदुरको भएको जनाएको छ ।
पश्चिमी यामागुची प्रान्तको चोसेई खानीको पूर्व स्थलमा कोरियाली गोताखोरहरूले यसै हप्ता तीनवटा हड्डी र एउटा खोपडी फेला पारेका थिए । प्रहरीको परीक्षणले ती सबै मानव अवशेष भएको पुष्टि गरेको छ । तर प्रहरीको भनाइमा, ती हड्डी र खोपडी एउटै व्यक्तिका हुन् कि होइनन् भन्न वा उमेर र मृत्युको समय निर्धारण गर्न सकिएको छैन ।
किजामु काई नामक समूहले ती अवशेषहरू पक्कै पनि ८३ वर्षअघि खानीमा मरेका पीडितहरूकै हुनुपर्ने बताएको छ । यस खोजले एक सय ३६ जना श्रम गर्न बाध्य पारिएका कोरियाली मजदुर र ४७ जना जापानी कामदारका अन्य अवशेषहरू पत्ता लगाउने उनीहरूको प्रयासलाई ठूलो बल मिलेको समूहको भनाइ छ ।
“म यस दिनको प्रतीक्षामा थिएँ”, समूहका प्रतिनिधि योको इनोउले मङ्गलबार हड्डी फेला परेको दिन भने । यो खोज टोकियोमा जापानी प्रधानमन्त्री शिगेरु इशिबा र दक्षिण कोरियाली राष्ट्रपति ली जे म्युङबीच भएको शिखर सम्मेलनको केही दिनपछि भएको हो । उक्त सम्मेलनमा ऐतिहासिक मतभेदलाई बेवास्ता गर्दै सुरक्षा र व्यापार जस्ता महत्त्वपूर्ण मुद्दामा सहकार्य गर्ने प्रतिबद्धता जनाइएको थियो ।
चोसेई समुद्रतल खानी सन् १९१४ मा सञ्चालनमा आएको थियो । तर सन् १९४२ फेब्रुअरीमा खानीको छतको एउटा हिस्सा भत्किँदा पानी पसेर एक सय ८३ जना कामदारको मृत्यु भएको थियो । यो दुर्घटना लामो समयसम्म बिर्सिएको अवस्थामा रह्यो । सन् १९९१ मा नागरिक समूहहरूले पीडितहरूका लागि स्मारक निर्माण गर्ने र पूर्व खानी स्थलको संरक्षण गर्ने प्रयास थालेपछि मात्रै यसबारे पुनः ध्यानाकर्षण भएको थियो ।
इतिहासकारहरूका अनुसार, दोस्रो विश्वयुद्धअघि र युद्धका क्रममा जापानले लाखौँ कोरियाली मजदुरलाई जबरजस्ती लगेको थियो । अधिकांश जापानी पुरुषहरू युद्धको मोर्चामा पठाइएकाले ती मजदुरलाई खानी र कारखानामा श्रम अभाव पूरा गर्न प्रयोग गरिएको थियो ।
वर्षौंको अनुसन्धानपछि किजामु काई समूहले गत वर्षदेखि समुद्रमुनि अवशेष खोजी सुरु गरेको हो । यसमा साक्षीका बयान र ऐतिहासिक अभिलेख सङ्कलन गरिएको थियो । -एपी





























प्रतिक्रिया