काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा इजरायल र प्यालेस्टिनी समूह हमास गाजा पट्टीमा युद्धविराम सम्झौताको पहिलो चरणमा सहमत भएका छन्। यो सफलताले सबै बन्धक हरूको तत्काल रिहाइ, इजरायली सेना सहमत स्थानमा फिर्ता र केही प्यालेस्टिनी कैदी हरूको रिहाइको मार्ग प्रशस्त गरेको छ।
सम्झौताका मुख्य बुँदाहरू
बन्धक रिहाइ: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले सामाजिक सञ्जालमा पोस्ट गर्दै बन्धकहरूलाई सम्भवतः सोमबार देखि रिहा गरिने बताएका छन्। यस चरणमा सबै बन्धकहरूको द्रुत रिहाइ सुनिश्चित हुनेछ।
सेना फिर्ती: सम्झौताअनुसार इजरायलले गाजाबाट आफ्ना सेनालाई सहमति भएको बिन्दु सम्म फिर्ता गर्नेछ।
कैदी रिहाइ: इजरायलले निश्चित संख्यामा प्यालेस्टिनी कैदीहरू लाई रिहा गर्नेछ।
सफलताको घोषणा: इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू ले यस सम्झौतालाई आफ्नो देशको लागि “कूटनीतिक सफलता र राष्ट्रिय तथा नैतिक विजय” भनेका छन्। हमासले पनि मध्यस्थकर्ता राष्ट्रहरू: कतार, इजिप्ट, र टर्की लगायत राष्ट्रपति ट्रम्पलाई धन्यवाद दिएको छ।
इजरायलले ७ अक्टोबर २०२३ मा हमासको आक्रमणको जवाफमा गाजामा सैन्य अभियान सुरु गरेको थियो, जसमा हमास-नेतृत्वका बन्दुकधारीले करिब १,२०० मानिसको ज्यान लिएका थिए र २५१ जनालाई बन्धक बनाएका थिए।
गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली सेनाको कारबाहीमा अहिलेसम्म ६७,१८३ भन्दा बढी प्यालेस्टिनीहरूको मृत्यु भइसकेको छ, जसमा २०,१७९ बालबालिका रहेका छन्। संयुक्त राष्ट्र संघ र अन्य अन्तर्राष्ट्रिय निकायहरूले यी तथ्याङ्कलाई विश्वसनीय मानेका छन्।
संयुक्त राष्ट्र संघ समर्थित आईपिसीले गाजा सहरमा मानव निर्मित भोकमरी पुष्टि गरेपछि युद्ध सुरु भएदेखि ४६० मानिसको कुपोषणका कारण मृत्यु भएको छ, जसमध्ये १८२ जना पछिल्लो अगस्टपछि मात्र मरेका छन् । यद्यपि, नेतन्याहू भोकमरी भइरहेको अस्वीकार गर्दै इजरायलले खाद्यान्न र अन्य सहायता आपूर्तिलाई सहजीकरण गरिरहेको दाबी गर्छन्।
अमेरिकी नेताहरूले आशा गरेअनुसार यदि हमास र इजरायल दुवैले प्रारम्भिक शान्ति सम्झौताको पालना गरे भने युद्धको अन्त्य हुनेछ । तर, गाजा पट्टीको पुनर्निर्माण र पुनःस्थापनाको कार्य धेरै लामो हुनेछ।





























प्रतिक्रिया