वासिंटन ।
अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले चुनावमा पराजय भोगेपछि पहिलो पटक जो बाइडेनलाई लक्षित गर्दै उनले चुनाव जितेको घोषणा गरेका छन् । तर फेरि अर्को ट्वीटमा बाइडेनले फेक मिडियाको नजरमा मात्रै जितेको भन्दै आफूले अझै पनि चुनावी नतिजा स्वीकार नगर्ने जिकिर गरे ।
आइतबार ट्रम्पले ट्वीट गर्दै ‘ही वोन’ अर्थात् ‘उनले जिते’ लेखेका हुन् । चुनाव सम्पन्न भएको एक साता बितिसक्दा पनि हार अस्वीकार गरिरहेका ट्रम्पले सायद पहिलो पटक यस्तो लेखे । तर फेरि अर्को ट्वीट लेख्दै ट्रम्पले त्यो जित फेक मिडियाको नजरमा मात्रै भएको आरोप लगाए ।
रिपब्लिकन पार्टीको तर्फबाट राष्ट्रपतिको उम्मेदवार बनेका ट्रम्प डेमोक्रेट पार्टीका उम्मेदवार जो बाइडेनसँग पराजित भएपछि ट्रम्पले बाइडेनमाथि बारम्बार चुनावमा धाँधली गरेको आरोप लगाउँदै आएका छन् । बाइडेनले मतगणनामा नतिजा चोरेको ट्रम्पको आरोप छ।
चौतर्फी आलोचनाका बावजुद उनले मुद्दा समेत दायर गरे । अन्ततः उनले अचानक यस्तो ट्वीट गरेका हुन् । ट्रम्पले चुनाव हारेपछि नै पत्रकार सम्मेलन गर्दै भविष्यमा कसको प्रशासन हुनेछ केही भन्न नसकिने भन्दै आफूले सरकार नछाड्ने संकेत दिएका थिए ।
यस्तै ट्रम्पले अदालती प्रक्रियामा गएर नतिजा उल्ट्याउन खोज्ने प्रयत्न पनि गरिरहेको अमेरिकी राजनीतिशास्त्रीहरुको भनाइ छ । पछिल्लो पटक ट्रम्पले ट्वीटरमा लेखेका छन्, ‘उनले फेक न्युज मिडियाको नजरमा मात्रै जितेका हुन् । मै केही स्वीकार गर्दिनँ । हामीलाई धेरै अगाडि जानुछ । यस चुनावमा धाँधली भयो ।’





























प्रतिक्रिया