काठमाडौं । केन्द्रबिन्दु बुलेटिनमा हामीले दैनिक पाँच वटा समाचार प्रस्तुत गर्ने गर्छाै । आजका प्रमुख पाँच समाचारहरुमध्ये आज यमपञ्चकको तेस्रो दिन अर्थात् लक्ष्मी पूजा । कार्तिक कृष्ण औँसीमा पर्ने यो पर्व साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा–आराधना गरी मनाइँदै छ । सफा सुग्घर नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका साथ बिहानै घर सरसफाइ गरी लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेष गरी घरका झ्याल, ढोका, चोटा, कोठा, सँघार, कौसी, अटाली, भर्याङ लगायतका स्थानमा सरसफाइ गरी दीपावली गर्ने चलन रहेको छ ।
त्यस्तै सरकारको निःशुल्क उपचार गर्ने प्रस्ताव प्रध्यापक डा. गोविन्द केसीले अस्वीकार गरेका छन् । शनिबार अस्पतालबाटै प्रेस विज्ञप्ति जारी गर्दै डा. केसीले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् । सरकारले व्यक्ति विशेषलाई हेरेर निःशुल्क उपचार गर्नुको सट्टा विपन्न र दूरदराजका जनतालाई उपचार गर्ने कामलाई प्राथमिकता दिनुपर्नेमा उनको जोड छ ।
सरकारले ल्याएको नयाँ पाठ्यक्रमका कारण यतिबेला विवाद देखिएको छ । सरकारले ल्याएको ‘विद्यालय शिक्षाको राष्ट्रिय पाठ्यक्रम प्रारूप, २०७६’ मा गणित विषय अनिवार्यमा नपारिएपछि सर्वोच्च अदालतमा परेको रिट निवेदन विचाराधीन रहेको अवस्थामा नयाँ पाठ्यक्रम यही शैक्षिक सत्रबाट लागू हुने हो÷होइन भन्ने अन्योलका बीच नेपाल गणित समाज आन्दोलित छ । निजी क्षेत्रबाट ११ र १२ को कक्षा चलाइरहेका विद्यालय सञ्चालकहरु तयारी विना नयाँ पाठ्यक्रम लागू नहोस् भन्ने अडानमा छन् ।
त्यस्तैगरी संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेशकुमार भट्टराईले नेपालको पर्यटन क्षेत्रले गति लिन थालेको बताएका छन् । शनिबार आयोजित कतारका राजकुुमारलाई विदाइ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले सो कुरा बताएका हुन् । विश्वमा कोभिड संक्रमणको जोखिम कायमै रहेपनि छिमेकी मुलुकबाट उच्च पदस्थ व्यक्तिहरु नेपाल भ्रमणमा आउनु नेपाली पर्यटन क्षेत्र विस्तारै आफ्नो गतिमा अगाडि बढ्न थालेको संकेत भएको उनको भनाइ छ ।
उत्तरी इथियोपियाको टीग्रे क्षेत्रमा बढ्दो द्वन्द्वका माझ सम्भवतः सयौँ गैरसैनिकहरूको आमहत्या भएको अन्तर्राष्ट्रिय मानवाधिकारवादी संस्था एम्नेस्टी इन्टरन्याश्नलले जनाएको छ । एमनेस्टीको एउटा वक्तव्य अनुसार नोभेम्बर ९ को रात टीग्रे क्षेत्रको दक्षिण पश्चिममा अवस्थित मे काडेरा नगरमा सयौँ मानिसहरूलाई छुरी धसेर वा धारिलो हतियारले काटेर मारिएको उसको दाबी छ । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..































प्रतिक्रिया