एजेन्सी। अमेरिकाले सिरियामा इस्लामिक स्टेट (आईएस) विरुद्ध ठूलो सैन्य आक्रमण सुरु गरेको छ। सिरियामा तैनाथ अमेरिकी सेनामाथि भएको घातक आक्रमणको प्रतिक्रियास्वरूप यो कारबाही थालिएको अमेरिकी पक्षले जनाएको छ।
अमेरिकाका रक्षा सचिव पिट हेगसेथका अनुसार ‘अपरेसन हकआई स्ट्राइक’ नाम दिइएको यो आक्रमणको मुख्य उद्देश्य आईएस लडाकु, उनीहरूका आधार क्षेत्र, पूर्वाधार तथा हतियार भण्डार नष्ट गर्नु हो। उनले आईएसलाई पूर्ण रूपमा कमजोर बनाउने लक्ष्यसहित कारबाही अघि बढाइएको बताए।
अमेरिकी अधिकारीहरूले सीबीएस न्युजलाई दिएको जानकारीअनुसार मध्य सिरियाका विभिन्न स्थानलाई लक्ष्य गरी लडाकु जेट, आक्रमणकारी हेलिकप्टर तथा तोपखाना प्रयोग गरिएको छ। आक्रमणमा जोर्डनका विमानहरू पनि संलग्न रहेको अमेरिकी सेनाले पुष्टि गरेको छ।
अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आईएसका गढहरूमा ‘धेरै बलियो र निर्णायक’ आक्रमण भइरहेको बताएका छन्। उनका अनुसार आतङ्कवादी समूहलाई पुनः संगठित हुन नदिने गरी निरन्तर दबाब दिइनेछ।
यो सैन्य कारबाही गत डिसेम्बर १३ मा सिरियाको ऐतिहासिक सहर पालमिरामा भएको आईएस आक्रमणपछि सुरु गरिएको हो। उक्त आक्रमणमा दुई अमेरिकी सैनिक र एक अमेरिकी नागरिक दोभाषेको ज्यान गएको थियो। त्यसयता क्षेत्रमा सुरक्षा अवस्था थप संवेदनशील बनेको छ।





























प्रतिक्रिया