इजरायली प्रधानमन्त्री नेतान्याहु कहाँ छन् ?

इजरायली प्रधानमन्त्री नेतान्याहु कहाँ छन् ?

केन्द्रबिन्दु
54
Shares

काठमाडाैं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको स्वास्थ्य र अवस्थालाई लिएर विश्वभरका सामाजिक सञ्जाल प्रयोगकर्ताहरूबीच तीव्र बहस सुरु भएको छ। गत मार्च १३ मा सार्वजनिक गरिएको एक भिडियोमा नेतान्याहुको दाहिने हातमा ‘छ वटा औँला’ देखिएको दाबी गरिएपछि उनी जीवितै छन् वा उनको सट्टा एआई प्रयोग गरिएको छ भन्ने प्रश्न उब्जिएको हो।

नेतान्याहुले आफ्नो आधिकारिक ‘एक्स’ (ट्विटर) ह्यान्डलबाट इरानसँगको युद्ध र अमेरिकी सहयोगबारे सम्बोधन गर्दै एक भिडियो जारी गरेका थिए। उक्त भिडियोमा उनले पोडियममा हात राख्दा एउटा हातमा छ वटा औँला देखिएको भन्दै प्रयोगकर्ताहरूले त्यसलाई ‘क्लासिक एआई ग्लिच’को संज्ञा दिएका छन्।

अमेरिकी दक्षिणपन्थी टिप्पणीकार क्यान्डेस ओवेन्सले पनि यस विषयमा प्रश्न उठाउँदै लेखेकी छिन्, “बीबी (नेतान्याहु) कहाँ छन्? उनको कार्यालयले किन नक्कली एआई भिडियोहरू पोस्ट गर्दै डिलिट गरिरहेको छ? ह्वाइट हाउसमा किन खैलाबैला मच्चिएको छ?”

के भन्छन् तथ्य जाँचकीहरू ?

सामाजिक सञ्जालमा नेतान्याहुको मृत्यु भइसकेको र अहिले सार्वजनिक भइरहेका भिडियोहरू एआईद्वारा निर्मित भएको दाबी गरिए पनि ‘एक्स’ को आफ्नै एआई च्याटबोट ग्रोकले यी दाबीहरूलाई खण्डन गरेको छ।

ग्रोकका अनुसार, “नेतान्याहुका अन्य मानिसहरूका जस्तै प्रत्येक हातमा पाँच वटा मात्र औँला छन्। भिडियोमा देखिएको दृश्य क्यामेराको कोण र छायाका कारण उत्पन्न भएको एक प्रकारको ‘अप्टिकल इल्युजन’ (दृष्टि भ्रम) मात्र हो।” स्नोप्स र टाइम्स अफ इजरायल जस्ता संस्थाहरूले पनि नेतान्याहुको मृत्युको खबरलाई निराधार र ‘इरानी प्रोपागान्डा’ भनेका छन्।

गत फेब्रुअरी २८ मा इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको मृत्यु भएपछि मध्यपूर्वको युद्धले नयाँ मोड लिएको छ। युद्धको १५औँ दिन पुग्दा नेतान्याहु सार्वजनिक रूपमा कम देखिनु र उनका छोरा याइर नेतान्याहु मार्च ९ देखि सामाजिक सञ्जालमा निष्क्रिय रहनुले पनि सर्वसाधारणमा शङ्का बढाएको छ।

यसैबीच, अमेरिकी ट्रेजरी सेक्रेटरी स्कट बेसेन्टले एउटा प्रेस कन्फरेन्स बीचैमा छोडेर जानु र केही समयपछि मात्र फर्कनुलाई पनि धेरैले यसै घटनाक्रमसँग जोडेर हेरेका छन्।

नेतान्याहु अन्तिम पटक बेत शेमेशमा भएको बमबारीपछिको भग्नावशेषको निरीक्षण गर्दै गरेको अवस्थामा देखिएका थिए। आधिकारिक स्रोतहरूले भने प्रधानमन्त्री पूर्ण रूपमा सक्रिय रहेको र युद्धको नेतृत्व गरिरहेको दाबी गरेका छन्।

Skip This
Skip This
Logo