खाडी क्षेत्रमा किन पर्दैछ तेलभन्दा बढी पानीको अस्तित्व संकट ?

खाडी क्षेत्रमा किन पर्दैछ तेलभन्दा बढी पानीको अस्तित्व संकट ?

केन्द्रबिन्दु
21
Shares

काठमाडाैं । दशकौँदेखि खाडी क्षेत्रको पहिचान र शक्ति तेलमा आधारित रहँदै आएको छ । ट्याङ्कर, पाइपलाइन र रिफाइनरीहरूलाई यस क्षेत्रको सबैभन्दा महत्त्वपूर्ण र संवेदनशील सम्पत्तिको रूपमा हेरिन्थ्यो। तर हालैका सैन्य तनाव र रणनीतिक परिवर्तनले एउटा नयाँ र डरलाग्दो वास्तविकता उजागर गरेको छ। अब तेलका कुवाहरू मात्र होइन, अरब प्रायद्वीप र इरानका करोडौँ मानिसलाई जीवित राख्ने ‘डिसेलिनेसन प्लान्ट’ (पानीलाई पिउनयोग्य बनाउने कारखाना) हरू युद्धको प्रमुख निशाना बन्न थालेका छन्।

हालै इरानको तेहरानस्थित तेल डिपोहरूमा भएका आक्रमण र त्यसलगत्तै परेको ‘कालो वर्षा’ ले वातावरणीय चुनौती त थपेको छ नै, यसले समग्र क्षेत्रको पानी आपूर्ति प्रणाली कति असुरक्षित छ भन्ने कुरालाई पनि सतहमा ल्याइदिएको हाे । तेलको आपूर्तिमा अवरोध आउँदा अर्थतन्त्रमा धक्का लाग्छ, तर पानीको अभावले मानवीय संकट पैदा गर्न सक्छ।

अरब प्रायद्वीपमा प्राकृतिक ताजा पानी लगभग शून्य छ । विश्वका १० ठूला नुनिलो पानी प्रशोधन केन्द्रमध्ये ८ वटा खाडी क्षेत्रमा छन्। कुवेतले आफ्नो पिउने पानीको ९० प्रतिशत, बहराइन र साउदी अरबले क्रमशः ठूलो हिस्सा प्रशोधनबाट प्राप्त गर्छन्।

खाडी क्षेत्रका १० करोड मानिसहरू त्यही पानी पिउँछन् जुन केही घण्टा अघि समुद्री पानीबाट प्रशोधन गरिन्छ । दुबई, दोहा, कुवेत सिटी र अबु धाबी जस्ता आधुनिक सहरहरूको अस्तित्व नै पूर्ण रूपमा डिसेलिनेसन प्रविधिमा टिकेको छ । यी विशाल औद्योगिक संरचनाहरू बिना यस क्षेत्रका आधुनिक सहरी प्रणालीहरू सञ्चालन हुन असम्भव जस्तै छ।

यो प्राविधिक सफलतासँगै एउटा ठूलो रणनीतिक जोखिम पनि निम्तिएको छ। खाडीको पानी सुरक्षा केही सीमित र विशाल तटीय प्लान्टहरूमा निर्भर छ। तेलका पाइपलाइनहरूलाई अन्य मार्गबाट मोड्न सकिए पनि, यी जटिल प्लान्टहरूलाई क्षति पुगेमा तुरुन्तै विकल्प खोज्न सकिँदैन। एउटा ठूलो प्लान्टको मर्मत गर्न महिनौँ लाग्न सक्छ, जबकि धेरैजसो सहरहरूसँग केही दिनका लागि मात्र पानी भण्डारण गर्ने क्षमता छ।

अन्तर्राष्ट्रिय मानवीय कानुन र जेनेभा महासन्धिको प्रोटोकल १ ले सर्वसाधारणको जीवन रक्षाका लागि अपरिहार्य रहेका पिउने पानीका पूर्वाधारहरूमाथि आक्रमण गर्न स्पष्ट निषेध गरेको छ। यति हुँदाहुँदै पनि, पछिल्ला युद्धहरूमा यी सुविधाहरू नजिकै भएका क्षेप्यास्त्र प्रहार र ड्रोन आक्रमणले गम्भीर चिन्ता बढाएको छ। यदि कुनै प्रमुख प्लान्टमा क्षति पुगेमा अस्पताल, सरसफाइ प्रणाली र खाद्य उत्पादनमा तत्कालै असर परी ठूलो मानवीय संकट पैदा हुने निश्चित छ।

मध्यपूर्व विश्वकै सबैभन्दा बढी पानीको अभाव भएको क्षेत्र हो। घट्दो नदी प्रवाह र सुक्दै गएका भूमिगत जलस्रोतका कारण डिसेलिनेसन अब पूरक प्रविधि मात्र नरहेर यस क्षेत्रको जीवनको मेरुदण्ड बनेको छ। विज्ञहरूका अनुसार यो ‘डिसेलिनेसन निर्भरता’ ले गर्दा भविष्यमा पानी उत्पादन प्रणालीलाई हतियारको रूपमा प्रयोग गरिने जोखिम बढेको छ।

तेल आक्रमणको तुलनामा यो फरक छ, तेल धन हो, तर पानी जीवन हो। सन् १९९१ मा इराकले साउदी र कुवेती प्रशोधन केन्द्रहरूलाई दूषित पार्दा वर्षौंसम्म क्षतिपूर्ति गर्नुपरेको थियो। सन् २०२६ मा पनि त्यस्तै जोखिम छ ।

२०औं शताब्दीमा तेलले खाडीका सहरहरूको निर्माण गर्यो, तर एक्काइसौँ शताब्दीमा यी सहरहरूलाई जीवित राख्ने जिम्मा पानीको काँधमा छ। यो चुनौती केवल क्षेत्रीय मात्र नभएर विश्वव्यापी पनि हो, किनकि जलवायु परिवर्तनका कारण विश्वका अन्य तटीय सहरहरूले पनि यस्तै प्रविधि अपनाइरहेका छन्। -एजेन्सी

Logo