इरानी आक्रमणबाट अमेरिकी सैन्य बेसहरूमा ८० करोड डलरको क्षति

इरानी आक्रमणबाट अमेरिकी सैन्य बेसहरूमा ८० करोड डलरको क्षति

केन्द्रबिन्दु
15
Shares

वासिङ्टन डीसी । मध्यपूर्वमा रहेका अमेरिकी सैन्य आधार शिविर (बेस) हरूमा इरानले गरेको जवाफी आक्रमणबाट युद्धको सुरुवाती दुई हप्तामै करिब ८० करोड अमेरिकी डलर (करिब १ खर्ब ६ अर्ब नेपाली रुपैयाँ) बराबरको भौतिक क्षति भएको एक नयाँ विश्लेषणले देखाएको छ।

एक अध्ययनअनुसार, अमेरिका र इजरायलले युद्ध सुरु गरेलगत्तै इरानले गरेको प्रारम्भिक हमलाहरूमा यो ठूलो क्षति भएको हो। इरानले विशेष गरी अमेरिकी हवाई प्रतिरक्षा प्रणाली र भू-उपग्रह सञ्चार प्रणालीलाई निशाना बनाएको प्रतिवेदनमा उल्लेख छ।

विशेष गरी जोर्डनमा रहेको एक अमेरिकी बेसमा जडान गरिएको ‘थाड’ मिसाइल डिफेन्स सिस्टमको राडारमा ठूलो क्षति पुगेको छ, जसको मात्र मूल्य करिब ४८ करोड ५० लाख डलर पर्दछ । यसका साथै कुवेतको अली अल-सलिम, कतारको अल-उदेद र साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा भएका हमलाहरूबाट भवन र अन्य पूर्वाधारमा थप ३१ करोड डलरको क्षति पुगेको छ। भू-उपग्रहबाट प्राप्त तस्विरहरूले इरानले केही बेसहरूमा एकभन्दा बढी पटक आक्रमण गरेको देखाएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेब्रुअरी २८ मा इरानमाथि आक्रमण सुरु गरेयता १३ जना अमेरिकी सैन्य अधिकारीले ज्यान गुमाइसकेका छन्। मानव अधिकारवादी संस्था ‘ह्राना’का अनुसार यस द्वन्द्वमा अहिलेसम्म १४०० सर्वसाधारणसहित करिब ३,२०० जनाको मृत्यु भइसकेको छ।

यति ठूलो क्षति र खर्चका बाबजुद अमेरिकी राष्ट्रपति ट्रम्पले इरानको आणविक कार्यक्रम र सैन्य क्षमता नष्ट गर्ने लक्ष्यमा अमेरिका सफल भइरहेको दाबी गरेका छन्। “हामी इरानमा निकै राम्रो गरिरहेका छौं,” उनले शुक्रबार ह्वाइट हाउसमा आयोजित एक कार्यक्रममा भने।

यद्यपि, पेन्टागनले युद्धको पहिलो १२ दिनमै १६.५ अर्ब डलर खर्च भइसकेको जनाएको छ। रक्षा सचिव पिट हेगसेथले युद्धका लागि थप २०० अर्ब डलर बजेट माग गर्दै “खराब मान्छेहरूलाई मार्न पैसा लाग्छ” भन्ने टिप्पणी गरेका छन्। -एजेन्सी

Skip This
Skip This
Logo