अमेरिका र इजरायलद्वारा इरानको नतान्ज आणविक केन्द्रमा आक्रमण

अमेरिका र इजरायलद्वारा इरानको नतान्ज आणविक केन्द्रमा आक्रमण

केन्द्रबिन्दु
15
Shares

तेहरान । इरानको परमाणु ऊर्जा संगठनले संयुक्त राज्य अमेरिका र इजरायलले आफ्नो महत्वपूर्ण नतान्ज आणविक केन्द्रमा आक्रमण गरेको पुष्टि गरेको छ। शनिबार बिहान भएको यस हमलालाई इरानले “अपराधिक आक्रमण” को संज्ञा दिएको छ।

इरानी समाचार एजेन्सी तास्निमका अनुसार, तेहरानबाट करिब २२० किलोमिटर दक्षिण-पूर्वमा रहेको ‘शहिद अहमदी रोशन’ युरेनियम प्रवर्द्धन केन्द्रलाई लक्षित गरी यो आक्रमण गरिएको हो। इरानी अधिकारीहरूले आक्रमणबाट भौतिक क्षति पुगे पनि उक्त क्षेत्रमा कुनै पनि प्रकारको ‘रेडियोधर्मी पदार्थ’ चुहावट नभएको स्पष्ट पारेका छन्। केन्द्र आसपास बस्ने सर्वसाधारणका लागि कुनै खतरा नरहेको समेत दाबी गरिएको छ।

संयुक्त राष्ट्रसंघीय आणविक वाचडगले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत इरानले आफूलाई यस हमलाका बारेमा जानकारी गराएको बताएको छ। आईएईए प्रमुख राफाल ग्रोसीले आणविक दुर्घटनाको जोखिम कम गर्न सैन्य संयमता अपनाउन पुनः आह्वान गर्नुभएको छ। उनले हालसम्म विकिरणको स्तरमा कुनै वृद्धि नदेखिएको तर घटनाको विस्तृत अध्ययन भइरहेको जानकारी दिएका छन्।

फेब्रुअरी २८ देखि सुरु भएको यस युद्धमा ह्वाइट हाउसले इरानलाई आणविक हतियार प्राप्त गर्नबाट रोक्नु आफ्नो मुख्य उद्देश्य रहेको बताउँदै आएको छ। नतान्ज केन्द्रमा यसअघि पनि युद्धको पहिलो हप्तामा आक्रमण भएको थियो, जसबाट केही भवनहरूमा क्षति पुगेको स्याटेलाइट तस्बिरहरूले देखाएका थिए।

यसैबीच, इजरायली रक्षा मन्त्री इजरायल काट्जले आगामी आइतबारदेखि इरानमाथि गरिने आक्रमणको तीव्रता अझ बढाइने चेतावनी दिएका छन्।

Logo