काठमाडाैं । इजरायली वायु रक्षा प्रणालीले इरानी क्षेप्यास्त्रहरूलाई बीचैमा रोक्न असफल भएपछि शनिबार दक्षिणी इजरायलका दुई सहरमा भएको भीषण आक्रमणमा परी १०० भन्दा बढी व्यक्ति घाइते भएका छन्। चिकित्सा अधिकारीहरूका अनुसार क्षेप्यास्त्र प्रहारबाट आवासीय भवनहरूमा ठूलो क्षति पुग्नुका साथै जमिनमा ठूला खाडलहरू बनेका छन्।
याे इजरायलमाथि अहिलेसम्मकै भीषण मिसाइल हमला हाे ।
मगेन डेभिड एडमका उद्धारकर्मीहरूले अराद सहरमा ८४ जना घाइते भएको जानकारी दिएका छन्, जसमध्ये १० जनाको अवस्था गम्भीर छ। यसअघि नजिकैको डिमोना सहरमा भएको अर्को प्रहारमा ३३ जना घाइते भएका थिए। इरानी राज्य सञ्चालित टेलिभिजनले डिमोनास्थित आणविक केन्द्रलाई लक्षित गरी गरिएको यो आक्रमण इरानको आफ्नै नातान्ज आणविक साइटमा भएको हमलाको “जवाफ” भएको दाबी गरेको छ।
करिब आधा टनसम्मका शक्तिशाली विस्फोटक पदार्थ बोकेका यी क्षेप्यास्त्रहरू सीधा बस्तीमा खस्दा ठूलो संख्यामा सर्वसाधारण घाइते भएका हुन्।
घटनास्थलबाट प्राप्त फुटेजहरूमा उद्धारकर्मीहरू भग्नावशेषमा पुरिएका मानिसहरूको खोजी गरिरहेको र दमकलहरू आगो निभाउन व्यस्त रहेको देखिन्छ। अरादको स्थानीय वारुण यन्त्र सेवाका अनुसार तीनवटा भवनमा प्रत्यक्ष क्षति पुगेको छ भने एउटामा भीषण आगलागी भएको थियो।
इजरायली सेनाले आफ्नो अत्याधुनिक रक्षा प्रणाली किन असफल भयो भन्नेबारे गम्भीर अनुसन्धान गर्ने बताएको छ। सैन्य प्रवक्ता ब्रिगेडियर जनरल एफी डेफिनले सामाजिक सञ्जाल ‘एक्स’ मार्फत रक्षा प्रणाली सञ्चालनमा रहे पनि क्षेप्यास्त्र रोक्न नसकिएको स्वीकार गरेका छन्।
यस आक्रमणपछि इजरायलको शिक्षा मन्त्रालयले सबै भौतिक कक्षाहरू स्थगित गर्दै अनलाइन माध्यमबाट पठनपाठन सुरु गर्न निर्देशन दिएको छ। प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले यस घटनालाई “अत्यन्त कठिन साँझ” को संज्ञा दिँदै इरान र उसका सहयोगीहरू विरुद्धको सैन्य कारबाही जारी राख्ने दृढता व्यक्त गरेका छन्।
इजरायली रक्षा प्रणाली किन भयो असफल ?
इजरायली वायुसेना र होम फ्रन्ट कमाण्डले यस घटनाको गम्भीर अनुसन्धान सुरु गरेका छन्। प्रारम्भिक विवरण अनुसार जोर्डनको आकाशमै ‘एरो’ प्रणालीमार्फत गरिएको पहिलो अवरोधको प्रयास असफल भएको थियो।
अन्तिम समयमा छोटो दुरीको ‘आइरन डोम’ले रोक्न खोजे पनि ध्वनिको गतिभन्दा ५ गुणा छिटो झर्ने क्षेप्यास्त्रलाई यसले भेटाउन सकेन। सैन्य विशेषज्ञ रोन बेन-यिशाइका अनुसार यी क्षेप्यास्त्रहरू ‘इमाद’ मोडलका हुनसक्ने अनुमान गरिएको छ, जुन अत्यन्तै सटिक निशाना लगाउन सक्षम मानिन्छन्।





























प्रतिक्रिया