तेहरान । इरानले विश्वकै सबैभन्दा महत्वपूर्ण सामुद्रिक व्यापारिक मार्ग ‘स्ट्रेट अफ हर्मुज’ बाट पार गर्ने जहाजहरूलाई २ मिलियन अमेरिकी डलर (करिब २६ करोड नेपाली रुपैयाँ भन्दा बढी) ‘ट्रान्जिट शुल्क’ लिन थालेको छ।
इरान र अमेरिका–इजरायल गठबन्धनबीच जारी युद्धका कारण सिर्जित खर्च धान्न यस्तो कदम चालिएको इरानी अधिकारीहरूले बताएका छन्।
इरानी संसद्को राष्ट्रिय सुरक्षा समितिका सदस्य अलाउद्दीन बोरौजेर्दीले सरकारी सञ्चार माध्यमसँग कुरा गर्दै यो नयाँ ‘सार्वभौम शासन’ लागू भइसकेको पुष्टि गरे। “युद्धको आफ्नै लागत हुन्छ, त्यसैले हर्मुज पार गर्ने जहाजबाट शुल्क लिनु स्वाभाविक हो,” बोरौजेर्दीले भने, “यसले इरानको शक्ति र अख्तियारीलाई विश्वसामु प्रमाणित गरेको छ।”
अन्तर्राष्ट्रिय ऊर्जा एजेन्सी (आईईए) र एस एन्ड पी ग्लोबलका अनुसार, युद्धका बीच इरानले दैनिक १७ देखि २० लाख ब्यारेल तेल निर्यात गरिरहेको छ। देशको करिब ९० प्रतिशत तेल निर्यात अझै पनि खार्ग टर्मिनलबाटै भइरहेको छ।
यो घटनाक्रम अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कडा चेतावनी लगत्तै सतहमा आएको हो। ट्रम्पले इरानलाई ४८ घण्टाभित्र स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा नखोले इरानका सबैभन्दा ठूला पावर प्लान्ट (विद्युत गृह) हरूलाई ‘निशाना बनाएर ध्वस्त पारिदिने’ अल्टिमेटम दिएका थिए।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा लेखेका छन्, “यदि इरानले विना कुनै धम्की हर्मुज मार्ग खोल्दैन भने, अमेरिकाले उनीहरूका पावर प्लान्टहरूमा आक्रमण गर्नेछ।”
ट्रम्पको धम्कीलाई लिएर इरानी राष्ट्रपति मसूद पेजेश्कियानले कडा प्रतिक्रिया दिएका छन्। उनले भनेका छन्, “इरानलाई नक्साबाट मेटाउने भ्रमले शत्रुको हतास मानसिकता मात्र देखाउँछ। स्ट्रेट अफ हर्मुज हाम्रो भूमिमा अतिक्रमण नगर्ने सबैका लागि खुला छ। हामी युद्धको मैदानमै यस्ता धम्कीहरूको सामना गर्न तयार छौं।”
इरानले थप चेतावनी दिँदै भनेको छ कि यदि अमेरिकाले इरानी पूर्वाधारमा आक्रमण गरेमा इजरायलका ऊर्जा केन्द्रहरू र यस क्षेत्रमा रहेका अमेरिकी सैन्य अखडाहरूलाई एकै दिनमा नष्ट पारिनेछ।
जारी युद्धको सबैभन्दा प्रत्यक्ष असर कच्चा तेलमा परेको छ। हाल ब्रेन्ट क्रुड ३.२६ प्रतिशतको उछालका साथ ११२.१९ डलर प्रति ब्यारेलमा पुगेको छ, जुन जुलाई २०२२ यताकै उच्च स्तर हो। विश्वको झण्डै २० प्रतिशत तेल र ग्यास आपूर्ति हुने यो जलमार्गमा उत्पन्न अवरोध र महँगो शुल्कका कारण कच्चा तेलको मूल्य प्रति ब्यारल १२० डलर पुग्न सक्ने प्रक्षेपण गरिएको छ। साथै जहाजहरूको बीमा शुल्क र चार्टर दरमा भारी वृद्धि भएको छ।





























प्रतिक्रिया