ट्रम्पद्वारा इरानमाथिको सैन्य आक्रमण ५ दिनका लागि स्थगित

ट्रम्पद्वारा इरानमाथिको सैन्य आक्रमण ५ दिनका लागि स्थगित

केन्द्रबिन्दु
219
Shares

काठमाडाैं । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानका ऊर्जा पूर्वाधार र पावर प्लान्टहरूमा हुने भनिएको सैन्य आक्रमणलाई पाँच दिनका लागि स्थगित गर्ने घोषणा गरेका छन् । ‘अपरेशन एपिक फ्युरी’ सुरु भएयताकै नरम शैलीमा प्रस्तुत हुँदै ट्रम्पले इरानसँग शत्रुताको पूर्ण र समग्र समाधानका लागि निकै सकारात्मक र उत्पादक छलफल भइरहेको दाबी गरेका हुन् ।

आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै राष्ट्रपति ट्रम्पले भनेका छन्, “मलाई यो जानकारी गराउन पाउँदा खुसी लागेको छ कि संयुक्त राज्य अमेरिका र इरानबीच विगत दुई दिनदेखि मध्यपूर्वमा जारी द्वन्द्वको पूर्ण समाधानका लागि निकै राम्रो र रचनात्मक कुराकानी भएको छ। यसै संवादको आधारमा मैले रक्षा मन्त्रालयलाई आगामी पाँच दिनका लागि इरानी पावर प्लान्टहरूमा हुने सबै प्रकारका सैन्य प्रहारहरू स्थगित गर्न निर्देशन दिएको छु।”

यो घोषणा ट्रम्पले इरानलाई रणनीतिक रूपमा महत्त्वपूर्ण ‘स्ट्रेट अफ हर्मुज’ खोल्न ४८ घण्टाको अल्टिमेटम दिएको केही समयपछि आएको हो। विश्वको झण्डै २० प्रतिशत तेल र ग्यास ओसारपसार हुने यो समुद्री मार्ग इरानले बन्द गराएपछि विश्वव्यापी ऊर्जा संकट चुलिएको थियो। ट्रम्पको पछिल्लो नरम सन्देशसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा समेत गिरावट देखिएको छ।

यद्यपि, इरानको तर्फबाट भने यस वार्ताको औपचारिक पुष्टि हुन बाँकी छ। अमेरिकी राष्ट्रपतिले वार्ता सकारात्मक भएको बताए पनि यो छलफल इरानको आणविक कार्यक्रम, ब्यालिस्टिक मिसाइल वा केवल युद्धविराम कुन विषयमा केन्द्रित छ भन्ने अझै स्पष्ट भएको छैन। कतिपय विज्ञहरूले इरानले आफ्नो सबैभन्दा ठूलो सामरिक हतियार मानिने हर्मुज जलसन्धि तत्कालै खुल्ला गर्नेमा आशंका व्यक्त गरेका छन्।

Logo