काठमाडौं । पश्चिम एसियाको युद्ध अन्त्यका लागि अमेरिकासँग कूटनीतिक वार्ता भइरहेको भन्ने हल्लालाई इरानले कडा अस्वीकार गरेपछि विश्व तेल बजारमा पुनः तीव्र उछाल देखिएको छ ।
मंगलबार बिहानको कारोबारमा ब्रेन्ट क्रुडको मूल्य १.१ प्रतिशत बढेर प्रतिब्यारेल १०१ डलर पुगेको छ भने अमेरिकी वेस्ट टेक्सास इन्टरमिडिएट (डब्लूटीआई) १.८ प्रतिशतले उकालो लागेर ८९.७१ डलरमा स्थिर भएको छ ।
सोमबार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका ऊर्जा केन्द्रमा आक्रमण पाँच दिनका लागि स्थगित गरेको र “अज्ञात इरानी अधिकारीहरूसँग सकारात्मक छलफल” भएको दाबी गरेपछि तेलको मूल्य एकै दिन १० प्रतिशत घटेको थियो । तर इरानको इस्लामिक रिभोलुसनरी गाड्र्स (आईआरजी) ले ट्रम्पको उक्त बयानलाई “मनोवैज्ञानिक अपरेसन” भन्दै “अमेरिकी लक्ष्यमा नयाँ आक्रमण” थाल्ने घोषणा गरेसँगै बजारमा फेरि अस्थिरता छाएको हो ।
ट्रम्पले मंगलबार पनि “शान्तिको अन्तिम अवसर” बाँकी रहेको र “सम्झौताका लागि महत्वपूर्ण प्रगति” भइरहेको बताएका छन् । यद्यपि इरानले यसलाई तत्काल खण्डन गर्दै “भ्रामक र निराधार खबर” भनेको छ । ह्वाइट हाउसकी प्रेस सचिव क्यारोलिन लेभिटले कूटनीतिक संवेदनशीलताको हवाला दिँदै “अवस्था अझै तरल छ, आधिकारिक पुष्टि नभएसम्म कुनै बैठक वा सम्झौतालाई अन्तिम मान्न सकिँदैन” भनेकी छन् ।
विश्वको करिब २० प्रतिशत तेल तथा ग्यास आपूर्ति हुने स्ट्रेट अफ होर्मुज अझै ठप्प प्रायः रहेको छ । म्याक्वेरी बैंकले अप्रिलको अन्त्यसम्म पनि यो जलमार्ग नखुलेमा ब्रेन्ट क्रुडको मूल्य प्रतिब्यारेल १५० डलरसम्म पुग्न सक्ने चेतावनी दिएको छ ।





























प्रतिक्रिया