एजेन्सी। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले इरानविरुद्धको सैन्य कारबाहीले युद्ध अन्त्यतर्फ पुगेको दाबी गरिरहेका बेला वास्तविक अवस्था भने त्यसको ठीक उल्टो देखिएको छ । ट्रम्प र उनका रक्षामन्त्री पीट हेग्सेथले निरन्तर आक्रमणले इरानको कमान्ड संरचना ध्वस्त पारेको र जवाफ दिने क्षमता कमजोर बनाएको दाबी दोहो¥याइरहेका छन्, तर मैदानमा भने तनाव झन् तीव्र बन्दै गएको छ ।
ट्रम्प प्रशासनले “अब युद्ध सकिनुपर्छ” भन्ने सन्देश दिइरहेको छ, तर पछिल्ला घटनाक्रमले इरान अझै सक्रिय र सक्षम रहेको संकेत दिएका छन् । हालै इरानले हिन्द महासागरस्थित डिएगो गार्सिया टापुमा रहेको अमेरिका–बेलायतको सैन्य अड्डातर्फ टाढाबाट क्षेप्यास्त्र प्रहार गरेको घटना सार्वजनिक भएको छ । लक्ष्यमा नपुगे पनि यसले इरानको क्षेप्यास्त्र दायरा पहिले अनुमान गरिएभन्दा धेरै फराकिलो हुनसक्ने देखाएको छ ।
यसले ट्रम्पको दाबीमाथि नै प्रश्न खडा गरेको छ। यदि इरान कमजोर भइसकेको हो भने यस्तो प्रहार कसरी सम्भव भयो ? निरन्तर आक्रमणका बीच पनि इरानले आफ्नो सैन्य क्षमता जोगाइरहेको देखिनु रणनीतिक रूपमा अमेरिकाका लागि चुनौती बन्दै गएको छ ।
उता, इरानको नेतृत्व तहमा ठूलो क्षति पुगेको दाबी गरिए पनि त्यहाँको नियन्त्रण संरचना अझै पूर्ण रूपमा ध्वस्त भएको संकेत देखिँदैन । सर्वोच्च नेता अली खामेनेईपछिको नेतृत्वबारे अन्योल कायम छ । मोज्तबा खामेनेईको नाम अघि आए पनि उनी सार्वजनिक रूपमा सक्रिय देखिएका छैनन् । यस्तो अवस्थामा पनि इरानबाट निरन्तर प्रतिक्रिया आउनु नेतृत्व संरचना अझै कार्यरत रहेको संकेत मानिन्छ ।
युद्धको अर्को जटिल पक्ष सूचना युद्ध पनि बनेको छ । एकातिर ट्रम्प प्रशासनले “इरानलाई निर्णायक रूपमा कमजोर बनाइएको” दाबी गरिरहेको छ, अर्कोतिर घटनाक्रमले त्यो दाबीलाई चुनौती दिइरहेको छ । यसले युद्धको वास्तविक अवस्था बुझ्न झन् कठिन बनाएको छ ।
विश्लेषकहरूका अनुसार यो द्वन्द्व अब साधारण सैन्य भिडन्तभन्दा बाहिर गइसकेको छ । यहाँ शक्ति प्रदर्शन, मनोवैज्ञानिक दबाब र रणनीतिक भ्रम सिर्जना-तीनै कुरा एकसाथ चलिरहेका छन् । ट्रम्पले राजनीतिक रूपमा ‘अन्त्य नजिक’ सन्देश दिन खोजे पनि मैदानमा देखिएको गतिविधिले युद्ध अझै लम्बिन सक्ने स्पष्ट संकेत गरेको छ ।
यसरी हेर्दा, घोषणाले युद्ध रोकिएको छैन-बरु प्रत्येक नयाँ आक्रमणले द्वन्द्वलाई अझ गहिरो बनाउँदै लगेको छ । अहिलेको अवस्थामा युद्ध कहिले अन्त्य हुन्छ भन्नेभन्दा पनि कति फैलिन्छ भन्ने चिन्ता बढ्दो छ ।































प्रतिक्रिया