मध्यपूर्वमा ५० हजार अमेरिकी सैनिक परिचालन, इरानसँगको युद्ध थप चर्कने संकेत

मध्यपूर्वमा ५० हजार अमेरिकी सैनिक परिचालन, इरानसँगको युद्ध थप चर्कने संकेत

केन्द्रबिन्दु
24
Shares

काठमाडाैं । इरानसँगको युद्ध एक महिना पुग्नै लाग्दा मध्यपूर्वमा अमेरिकी सैन्य उपस्थितिमा भारी वृद्धि गरिएको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्धको आगामी रणनीति तय गरिरहँदा यस क्षेत्रमा अमेरिकी सैनिकको संख्या ५० हजार नाघेको छ, जुन सामान्य अवस्थाको तुलनामा करिब १० हजारले बढी हो।

पछिल्लो समय २,५०० मरिन र २,५०० नौसैनिकको आगमनसँगै मध्यपूर्वमा अमेरिकी शक्ति सुदृढ पारिएको छ। अमेरिकी अधिकारीहरूका अनुसार राष्ट्रपति ट्रम्पले इरानको कुनै टापु वा महत्त्वपूर्ण भूभाग कब्जा गरेर ‘स्ट्रेट अफ हर्मुज’ खुला गर्ने विकल्पमा विचार गरिरहेका छन्। विश्वको कुल तेल आपूर्तिको झन्डै २० प्रतिशत हिस्सा ओगट्ने यो जलमार्ग इरानी सेनाको अवरोधका कारण हाल ठप्प प्रायः छ।

हालै ८२औं एयरबोर्न डिभिजनका २,००० प्याराट्रूपरहरूलाई पनि मध्यपूर्व पठाइएको छ। उनीहरूलाई इरानको प्रमुख तेल निर्यात केन्द्र ‘खार्ग टापु’ नियन्त्रणमा लिन वा अन्य विशेष स्थलगत कारबाहीमा प्रयोग गर्न सकिने पेन्टागनको स्रोतले जनाएको छ। यद्यपि, उनीहरूको वास्तविक अवस्थितिलाई गोप्य राखिएको छ।

यसैबीच, अमेरिकी विमानवाहक जहाज ‘युएस गेराल्ड फाेर्ड’ भने प्राविधिक गडबडी र जहाजभित्र भएको सामान्य आगलागीका कारण यो क्षेत्रबाट बाहिरिएको छ। हाल यो जहाज मर्मतका लागि क्रोएसिया पुगेको र यसको अर्को गन्तव्यबारे केही खुलाइएको छैन।

सैन्य विज्ञहरूले भने ५० हजार सैनिकको संख्या इरान जस्तो विशाल भूगोल र ९ करोड ३० लाख जनसंख्या भएको देशमा पूर्ण नियन्त्रण जमाउन अपर्याप्त हुने टिप्पणी गरेका छन्। सन् २००३ को इराक आक्रमणमा करिब २ लाख ५० हजार सैनिक परिचालन गरिएको स्मरण गर्दै विज्ञहरूले हालको सैन्य वृद्धि केवल सीमित रणनीतिक लक्ष्य वा दबाब सिर्जना गर्नका लागि मात्र हुन सक्ने बताएका छन्।

साउदी अरब, बहराइन, इराक, सिरिया, जोर्डन, कतार, संयुक्त अरब इमिरेट्स र कुवेतमा रहेका अमेरिकी सैन्य आधार शिविरहरूलाई हाल ‘हाई अलर्ट’ मा राखिएको छ।

Logo