वासिङ्टन डीसी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले सेना प्रमुख (आर्मी चिफ अफ स्टाफ) जनरल र्यान्डी जर्जलाई पदमुक्त गरेको छ।
इरानविरुद्ध अमेरिकाले भिषण सैन्य कारबाही जारी राखेकै समयमा शुक्रबार जर्जसहित अन्य दुई वरिष्ठ सैन्य अधिकारीहरूलाई बर्खास्त गरिएको हो।
रक्षा सचिव पिट हेगसेथले जनरल जर्जलाई हटाएको पुष्टि गरेका छन्। ट्रम्प दोस्रो कार्यकालका लागि सत्तामा फर्किएको एक वर्ष पुग्नै लाग्दा रक्षा मन्त्रालय (पेन्टागन) मा भएको यो पछिल्लो ठूलो फेरबदल हो। अमेरिकी सेनाले इरानमाथि एक महिनादेखि लगातार बमबारी गरिरहेको र उक्त अभियान अझै केही हप्ता जारी रहने राष्ट्रपति ट्रम्पले उद्घोष गरिरहेका बेला भएको यो बर्खास्तीलाई अर्थपूर्ण रूपमा हेरिएको छ।
पेन्टागनका प्रवक्ता सीन पारनेलका अनुसार जनरल जर्जले तत्कालै लागू हुने गरी आफ्नो पदबाट अवकाश लिनेछन्। झण्डै चार दशक लामो सैन्य करियरमा जर्जले इराक र अफगानिस्तानमा महत्वपूर्ण युद्धको नेतृत्व गरेका थिए। उनको स्थानमा जनरल क्रिस्टोफर लानेभले कार्यवाहक सेना प्रमुखको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको छ।
सेना प्रमुखसँगै सेनाको ट्रान्सफर्मेसन एन्ड ट्रेनिङ कमान्डका प्रमुख जनरल डेभिड होड्ने र च्याप्लेन कोर्प्सका प्रमुख मेजर जनरल विलियम ग्रीन जुनियरलाई पनि पदमुक्त गरिएको छ।
राष्ट्रपति ट्रम्पले सत्ता सम्हालेलगत्तै सुरु गरेको सैन्य अधिकारीहरूको ‘शुद्धीकरण’ अभियान अन्तर्गत यो कदम चालिएको विश्लेषण गरिएको छ। यसअघि फेब्रुअरी २०२५ मा उनले जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल चार्ल्स ‘सीक्यू’ ब्राउनलाई कुनै कारण नखुलाई बर्खास्त गरेका थिए। अहिलेसम्म नौसेना, कोस्ट गार्ड, र राष्ट्रिय सुरक्षा एजेन्सीका प्रमुखहरू समेत हटाइसकिएका छन्।
रक्षा सचिव हेगसेथले राष्ट्रपतिले आफूलाई विश्वास हुने र चाहेको नेतृत्व छनोट गर्न पाउनु स्वाभाविक भएको बताएका छन्। तर, विपक्षी डेमोक्रेटिक सांसदहरूले भने तटस्थ रहनुपर्ने सेनालाई ट्रम्पले राजनीतिकरण गर्न खोजेको भन्दै आपत्ति जनाएका छन्। हेगसेथले हालै सेनामा सक्रिय चारतारे जनरल र एडमिरलहरूको संख्यामा २० प्रतिशतले कटौती गर्ने आदेश समेत दिइसकेका छन्।































प्रतिक्रिया