हर्मुज जलसन्धि नखोले इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

हर्मुज जलसन्धि नखोले इरानका पावर प्लान्ट र पुल ध्वस्त पारिदिने ट्रम्पको चेतावनी

केन्द्रबिन्दु
12
Shares

वासिङ्टन डीसी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई अत्यन्तै आक्रामक भाषामा चेतावनी दिँदै हर्मुज जलसन्धि खुल्ला गर्न मंगलबारसम्मको अन्तिम समयसीमा (डेडलाइन) तोकेका छन्।

सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत ट्रम्पले निर्धारित समयभित्र जलसन्धि नखोलिए इरानका उर्जा केन्द्र र पुलहरूलाई निशाना बनाउने धम्की दिएका हुन्।

विश्वको कुल तेल र ग्यास आपूर्तिको झण्डै २० प्रतिशत हिस्सा ओगट्ने हर्मुज जलसन्धि इरानले अवरुद्ध पारेपछि विश्वबजारमा इन्धनको मूल्य आकासिएको छ। यसै पृष्ठभूमिमा ट्रम्पले मंगलबारलाई “पावर प्लान्ट र ब्रिज डे” को संज्ञा दिँदै इरानलाई ‘नर्क’ देखाइदिने चेतावनी दिएका हुन्।

यद्यपि, धम्कीपूर्ण भाषा प्रयोग गरेलगत्तै ट्रम्पले फक्स न्युजसँग कुरा गर्दै सोमबारसम्म सम्झौता हुने “राम्रो सम्भावना” रहेको पनि बताएका छन्। उनले यदि वार्ता सफल नभए इरानको तेल क्षेत्र कब्जा गर्ने र सैन्य बल प्रयोग गरी भौतिक संरचना ध्वस्त पार्ने विकल्प खुला रहेको स्पष्ट पारे।

यता इरानले भने ट्रम्पको यस अल्टिमेटमलाई “असहाय, नर्भस र सन्तुलन गुमाएको” व्यक्तिको संज्ञा दिएको छ । इरानी राष्ट्रपति कार्यालयका प्रवक्ता महदी ताताबाईले युद्धका कारण भएको क्षतिको पूर्ति गर्न जहाजहरूबाट ‘ट्रान्जिट शुल्क’ उठाउन पाउनुपर्ने अडान दोहोर्‍याएका छन्। इरानी सैन्य कमान्डर जनरल अली अब्दुल्लाही अलिआबादीले अमेरिकी धम्कीको प्रतिकार गर्दै “नर्कको ढोका अमेरिकाका लागि खुल्ने” चेतावनी दिएका छन्।

यो तनाव त्यस्तो बेला चुलिएको हो जब इरानको आकाशमा खसालिएको अमेरिकी लडाकु विमान चालक दलका सदस्यलाई अमेरिकी विशेष फौजले इरानी भूमिभित्रैबाट सफल उद्धार गरेको छ।

विगत एक महिनादेखि जारी यस संघर्षमा इजरायलले पनि इरानका पेट्रोकेमिकल केन्द्र र विमानस्थलहरूमा आक्रमण तीव्र पारेको छ । जवाफमा इरानले इजरायलको हाइफा सहरका आवासीय भवन र खाडी क्षेत्रमा रहेका संयुक्त अरब इमिरेट्स, कुवेत र बहराइनका तेल प्रशोधन केन्द्रहरूमा मिसाइल र ड्रोन हमला गरिरहेको छ।

Skip This
Skip This
Logo