काठमाडौं। इरानले अमेरिका र इजरायलसँग जारी तनाव अन्त्य गर्ने उद्देश्यले पाकिस्तानमार्फत नयाँ शान्ति प्रस्ताव अघि सारेको छ । यसलाई युद्ध ‘सधैंका लागि अन्त्य गर्ने’ प्रयासका रूपमा हेरिएको छ ।
बीबीसीका अनुसार इरानले अमेरिकाबाट आएको १५ बुँदे प्रस्तावको विस्तृत अध्ययनपछि आफ्नै सर्तसहितको जवाफ तयार पारी कूटनीतिक माध्यममार्फत पठाएको हो । यसअघि इरानले अमेरिकी प्रस्ताव अस्वीकार गरिसकेको थियो ।
प्रस्तावमा इरानले क्षेत्रीय द्वन्द्व अन्त्य, स्ट्रेट अफ होर्मुजमार्फत सुरक्षित समुद्री आवागमन, प्रतिबन्ध हटाउने र युद्धपछिको पुनर्निर्माणजस्ता विषयलाई प्रमुख रूपमा अघि सारेको बताइएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले यसअघि इरानलाई समुद्री मार्ग खुला गर्न निश्चित समयसीमा दिएका थिए । सो समयसीमा नजिकिँदै गर्दा इरानले शान्ति सन्देश पठाएको हो ।
विश्लेषकहरूका अनुसार यो कदम कूटनीतिक दबाब र सैन्य तनावबीचको सन्तुलन कायम गर्ने प्रयास हुनसक्ने देखिन्छ । तर दुवै पक्षका अडान अझै टाढा रहेकाले दीर्घकालीन समाधान चुनौतीपूर्ण रहेको बताइएको छ ।































प्रतिक्रिया