वासिङ्टन। कडा युद्ध चेतावनी दिएको केही घण्टामै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग दुई हप्ते युद्धविराम भएको घोषणा गरेपछि अन्तर्राष्ट्रिय राजनीति एकाएक बदलिएको छ। ‘सभ्यता नै समाप्त हुन सक्छ’ भन्ने धम्कीपछि आएको यो निर्णयलाई अचानक गरिएको ठूलो यू–टर्नका रूपमा हेरिएको छ।
यो सहमति पाकिस्तानको मध्यस्थतामा भएको हो र वार्ता इस्लामावादमा हुने भनिएको छ। तर दुवै पक्षले एक–अर्कामाथि आरोप–प्रत्यारोप जारी राखेकाले सम्झौता टिक्नेमा प्रश्न उठेको छ। ट्रम्पले इरानले होर्मुज जलमार्ग खोल्ने सर्त स्वीकार गरेको दाबी गरेका छन्। तर इरानले भने यसलाई अमेरिकाको दबाबपछि आएको अस्थायी पछि हटाइ भन्दै अस्वीकारको संकेत दिएको छ।
युद्धविरामको घोषणा भएको केही मिनेटमै इरानबाट इजरायलतर्फ मिसाइल प्रहार भएको रिपोर्ट आएको छ। इजरायलले पनि आफ्नो सुरक्षा जोखिम कायम रहेसम्म आक्रमण रोक्न नसकिने संकेत दिएको छ। ६ हप्तादेखि जारी युद्धमा हजारौँको ज्यान गइसकेको अवस्थामा आएको यो सहमति कागजमा मात्रै सीमित हुने हो कि भन्ने शंका बढेको छ।
यता, युद्धविरामको खबरपछि विश्व बजारमा ठूलो असर परेको छ। तेलको मूल्य तीव्र रूपमा घटेको छ र सेयर बजार बढेको छ।तर विश्लेषकहरूका अनुसार जमीनमा स्थिति अझै विस्फोटक छ-जहाँ युद्ध पनि जारी छ, वार्ता पनि सुरु हुँदैछ।





























प्रतिक्रिया