हंगेरीमा ओर्बानको १६ वर्षे सत्ता ढलेपछि…

हंगेरीमा ओर्बानको १६ वर्षे सत्ता ढलेपछि…

केन्द्रबिन्दु
6
Shares

हंगेरी । हंगेरीमा १६ वर्षदेखि एकछत्र शासन गरिरहेका भिक्टर ओर्बानको सत्तालाई अन्त्य गर्दै पिटर माज्यारको नेतृत्वमा नयाँ राजनीतिक युगको सुरुवात भएको छ। आइतबार सम्पन्न आम निर्वाचनमा माज्यारको ‘तिज्जा’ पार्टीले भारी बहुमतका साथ “ऐतिहासिक” जित हासिल गरेपछि हंगेरीको विदेश नीति र युरोपेली युनियनसँगको सम्बन्धमा ठूलो फेरबदल हुने संकेत देखिएको हाे ।

निर्वाचनमा विजयको घोषणा भएलगत्तै आयोजित एक विशेष पत्रकार सम्मेलनमा नवनिर्वाचित प्रधानमन्त्री पिटर माज्यारले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको सम्भावित सम्बन्धबारे आफ्नो धारणा स्पष्ट पारेका छन्। निवर्तमान प्रधानमन्त्री ओर्बान पुटिनका निकट सहयोगी मानिए पनि ४५ वर्षीय माज्यारले भने रुससँगको सम्बन्धमा दूरी कायम गर्ने संकेत दिएका हुन्।

“यदि भ्लादिमिर पुटिनले मलाई फोन गरे भने म पक्कै पनि फोन उठाउनेछु, तर म आफैं उनलाई कल गर्ने छैन,” माज्यारले भने। उनले अगाडि थपे, “यदि हामीबीच कुराकानी भयो भने, म उनलाई चार वर्षदेखि जारी यो रक्तपातपूर्ण युद्ध अन्त्य गर्न र युक्रेनबाट पछि हट्न स्पष्ट आग्रह गर्नेछु।”

माज्यारले युक्रेन युद्धका कारण रुसी र युक्रेनी दुवै पक्षका हजारौँ परिवार ध्वस्त भएको भन्दै यो युद्ध रुसको दृष्टिकोणबाट पनि अर्थहीन रहेको टिप्पणी गरे। ओर्बानले विगतमा युक्रेनलाई दिइने सहायतामा अवरोध गर्दै आएकोमा माज्यारले भने युक्रेनलाई रुसी आक्रमणको स्पष्ट पीडितका रूपमा चित्रण गरेका छन्।

हंगेरीको आन्तरिक राजनीतिको सन्दर्भमा, माज्यारले यो जित केवल सरकार परिवर्तन नभएर “पूर्ण व्यवस्था परिवर्तन” भएको दाबी गरे। हालसम्मको चुनावी नतिजा अनुसार उनको पार्टीले संसदमा १३६ सिटसहित दुई-तिहाइ बहुमत प्राप्त गरेको छ, जसले उनलाई संविधान संशोधन गर्ने समेत शक्ति प्रदान गर्दछ।

विदेश नीतिका बारेमा बोल्दै उनले हंगेरी पुनः युरोपेली युनियनको बलियो अंग बन्ने र छिट्टै युरोजोनमा प्रवेश गर्ने प्रक्रिया सुरु गर्ने बताए। युरोपेली आयोगकी अध्यक्ष उर्सुला भान डार लेयेनसँग फोन वार्ता गरिसकेका माज्यारले आफ्नो पहिलो कुटनीतिक भ्रमण पोल्याण्ड, अस्ट्रिया र जर्मनीबाट सुरु गर्ने घोषणा गरेका छन्।

अमेरिकी राजनीति र डोनाल्ड ट्रम्पसँगको सम्बन्धका बारेमा सोधिएको प्रश्नमा माज्यारले भने, “म ट्रम्पलाई फोन गर्दिनँ, तर यदि उनी फोन गर्छन् भने हामी नेटोका बलियो सहयोगी हौँ भन्ने कुरा राख्नेछु। साथै उनलाई अर्को वर्ष अक्टोबरमा हुने सोभियत विरोधी हंगेरी विद्रोहको ७० औँ वार्षिकोत्सवमा निमन्त्रणा समेत दिनेछु।”

पत्रकार सम्मेलनकै क्रममा उनले निवर्तमान परराष्ट्रमन्त्री पिटर सिज्जार्तोमाथि गम्भीर आरोप समेत लगाए। माज्यारले परराष्ट्र मन्त्रालयभित्र रुसमाथिको प्रतिबन्धसँग सम्बन्धित महत्वपूर्ण र गोप्य कागजातहरू नष्ट गर्ने काम भइरहेको सूचना आफूले पाएको दाबी गरे। यद्यपि, निवर्तमान सरकारले यसबारे हालसम्म कुनै आधिकारिक प्रतिक्रिया दिएको छैन।

Logo