अमेरिकाको नाकाबन्दीले इरानमाथि कस्तो पर्छ असर ?

अमेरिकाको नाकाबन्दीले इरानमाथि कस्तो पर्छ असर ?

केन्द्रबिन्दु
3
Shares

काठमाडौं । मध्यपूर्वमा युद्धको रणनीति र कूटनीतिक खिचातानीले नयाँ उचाइ लिएको छ। अमेरिकी सेन्ट्रल कमाण्डले इरानी बन्दरगाह र जहाजहरूमा पूर्ण सामुद्रिक नाकाबन्दी घोषणा गरेसँगै यस क्षेत्रमा आर्थिक र सैन्य दबाब चरम सीमामा पुगेको हो।

सोमबार बिहान १० बजेदेखि लागू भएको यो नाकाबन्दीले इरानी तेल निर्यातलाई पूर्णतया ठप्प पार्ने लक्ष्य राखेको छ । विश्लेषकहरूका अनुसार यो कदमले इरानलाई दैनिक ४३ करोड ५० लाख डलरभन्दा बढीको आर्थिक क्षति पुर्‍याउने देखिन्छ। नाकाबन्दी सुरु हुनुअघि नै चीनतर्फ मोडिएका केही तेल ट्याङ्करहरूले आफ्नो बाटो परिवर्तन गरेका छन्।

अमेरिकाले होर्मुज जलसन्धि भएर गैर इरानी बन्दरगाह जाने जहाजहरूलाई अवरोध नगर्ने बताए तापनि इरानी सम्बन्ध भएका सबै साना ठूला जहाजमाथि कडा निगरानी राख्न १५ भन्दा बढी युद्धपोत परिचालन गरेको छ। अमेरिका र इरानबीच पाकिस्तानमा भएको २१ घण्टे वार्ता असफल भएपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सोमबारदेखि नै लागू हुने गरी इरानमाथि नाकाबन्दी लगाएका हुन् ।

अमेरिका र इसराइलले युद्ध सुरू गरेपछि इरानले स्ट्रेट अफ होर्मुज बन्द गरेर आफ्नो अनुमतिमा मात्रै सो जलमार्ग प्रयोग गर्न दिइरहेको छ। हर्मुज प्रयोग गरी इरानी बन्दरगाहमा जाने र त्यहाँबाट फर्कने सबै देशका जहाजमा नाकाबन्दी लगाउने अमेरिकाले घोषणा गरेको छ । हर्मुज हुँदै अन्य देशमा जाने समुद्री जहाजहरूलाई भने अवरोध नगरिने अमेरिकाले जनाएको छ । ट्रम्पको सो नाकाबन्दीलाई इरानले गैरकानूनी भन्दै त्यसको प्रतिकार गर्ने दृढता व्यक्त गरिसकेको छ। अमेरिकाले नाकाबन्दी लगाए खाडी राष्ट्रका बन्दरगाहहरूमा आक्रमण गर्ने इरानले धम्की दिएको छ।

नाकाबन्दीका लागि अमेरिकी सेनाले अमेरिकी युद्धपोत यूएसएस अब्राहम लिंकनलाई ओमानको खाडीको पूर्वी किनारमा तैनाथ गरेको छ । यो इरानको तटबाट लगभग २ सय किलोमिटर दक्षिणमा पर्छ । वार्ता र शान्तिको नजिक पुगेका इरानअमेरिका पुनः आमनेसामने हुँदा यसले प्रत्यक्ष प्रभाव भने तेलको मूल्यमा पारेको छ । कच्चा तेलको मूल्य पुनः १ सय डलर प्रतिब्यारलभन्दा माथि पुगेको छ ।

स्ट्रेट अफ होर्मुज इरानको लाइफलाइन हो । मध्यपूर्वका प्रमुख तेल र ग्यास निर्यातकर्ताहरू अन्तर्राष्ट्रिय बजारमा आपूर्ति पुर्‍याउन यसैमा निर्भर छन् भने आयातकर्ता राष्ट्रहरू यसको निर्बाध सञ्चालनमा निर्भर छन्। यसको एकातिर ओमान र युएई र अर्कोतिर इरानको बिचमा अवस्थित छ। यसले अरब खाडीलाई ओमानको खाडी र त्यसभन्दा परको अरब सागरसँग जोड्छ। यो यसको सबैभन्दा साँघुरो विन्दुमा ३३ किलोमिटर चौडा छ, जहाँ पानीजहाज हिँड्ने लेन दुवै दिशामा मात्र ३ किलोमिटर चौडा छ, जसले गर्दा यो आक्रमणको उच्च जोखिममा छ।

अमेरिकालाई इरानमाथि लगाएको नाकाबन्दी हटाउन साउदी अरबलगायत युरोपेली मुलुकहरुले दबाब दिइरहेका छन् । नाकाबन्दीले इरानलाई थप उत्तेजित बनाउने र इरानले अन्य महत्त्वपूर्ण जलमार्गहरूमा अवरोध पुर्‍याउन सक्ने उनीहरुलाई डर छ।

यसैबीच, खाडी क्षेत्रमा ड्रोन आक्रमणको सिलसिला पनि तीव्र भएको छ। बहराइन रक्षा बलले सोमबार बिहान सातवटा इरानी निर्मित ड्रोनहरू खसालेको जानकारी दिएको छ । यी आक्रमणहरू इरान समर्थित इराकी मिलिसियाहरूले गरेको आशंकामा साउदी अरब र बहराइनले इराकी कूटनीतिज्ञहरूलाई बोलाएर कडा विरोध जनाएका छन्। इरानले आफ्ना मिलिसिया साझेदारहरूलाई आक्रमण रोक्न निर्देशन नदिएका कारण यो तनाव बढेको बुझिएको छ।

यता कूटनीतिक मोर्चामा पनि कुनै ठोस सफलता हात लाग्न सकेको छैन। पाकिस्तानको इस्लामावादमा भएको परमाणु वार्तामा इरानले २० वर्षसम्म युरेनियम संवर्द्धन रोक्ने अमेरिकी प्रस्तावलाई अस्वीकार गरिदिएको छ। इरानले संवर्द्धनको समय सीमा घटाउनुपर्ने र युरेनियमको मौज्दात मुलुकबाहिर पठाउनुको सट्टा आफ्नै नियन्त्रणमा रहने गरी डाउनब्लेंड गर्नुपर्ने अडान राखेको छ। यद्यपि, दुवै पक्षबीच आगामी अप्रिल २१ मा हुने युद्धविरामको म्याद सकिनुअघि दोस्रो चरणको वार्ताका लागि मध्यस्थकर्ताहरूले प्रयास जारी राखेका छन्।

अमेरिका र इजरायलका आक्रमणबाट करिब २७० अर्ब अमेरिकी डलर बराबरको क्षति भएको इरानले जनाएको छ । यो हिसाब प्रत्यक्ष र अप्रत्यक्ष दुवै प्रकारका क्षतिलाई जोडेर तयार गरिएको हो । इरानले आफ्नो छिमेकी देशहरू साउदी अरब, युएई, कतार, बहराइन र कुवेतसँग पनि युद्धमा भएको क्षतिको भरपाइको माग गरेको छ ।

Skip This
Skip This
Logo