काठमाडौं । इरानले मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अखडाहरूमा आक्रमण गर्न चीनबाट गोप्य रूपमा खरिद गरिएको जासुसी भू-उपग्रह प्रयोग गरेको सनसनीपूर्ण खुलासा भएको छ।
‘फाइनान्सियल टाइम्स’ले बुधबार सार्वजनिक गरेको रिपोर्टअनुसार, इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प्स’ले सन् २०२४ मा खरिद गरेको चिनियाँ भू-उपग्रहलाई हालैका सैन्य कारबाहीहरूमा रणनीतिक रूपमा प्रयोग गरेको हो।
चुहिएका इरानी सैन्य दस्ताबेजहरूलाई उद्धृत गर्दै सार्वजनिक गरिएको सो रिपोर्टमा जनाइएअनुसार चिनियाँ कम्पनी ‘अर्थ आई’ले निर्माण र प्रक्षेपण गरेको ‘टिईई-0१बी’ नामक भू-उपग्रह इरानले प्राप्त गरेको थियो। उक्त भू-उपग्रहलाई इरानी सैन्य कमाण्डरहरूले साउदी अरबको प्रिन्स सुल्तान एयर बेस, जोर्डनको मुवाफक साल्टी एयर बेस र बहराइनस्थित अमेरिकी पाँचौँ फ्लीटको नौसैनिक आधार शिविरहरूको निगरानी गर्न निर्देशन दिएका थिए।
मार्च महिनामा ती स्थानहरूमा भएका ड्रोन तथा मिसाइल आक्रमण अघि र पछि खिचिएका उच्च गुणस्तरका तस्बिरहरू र तथ्याङ्कहरू उक्त भू-उपग्रहले उपलब्ध गराएको दाबी गरिएको छ । यस सम्झौता अन्तर्गत इरानले बेइजिङस्थित ‘इम्पोस्याट’ नामक कम्पनीको विश्वव्यापी ग्राउन्ड स्टेशन नेटवर्कमा समेत पहुँच पाएको बताइएको छ, जसले इरानलाई युद्धमैदानको प्रत्यक्ष जानकारी संकलन गर्न मद्दत पुर्याएको छ।
गत फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानको आणविक तथा मिसाइल क्षमता नष्ट गर्न सुरु गरेको बमबारी अभियानपछि दुई पक्षबीच तनाव उत्कर्षमा पुगेको छ। इरानले जवाफी कारबाहीस्वरूप मिसाइल प्रहार गर्नुका साथै विश्वकै महत्त्वपूर्ण व्यापारिक मार्ग हर्मुज जलसन्धिमा समेत अवरोध सिर्जना गरेको छ।
यसअघि इरानले रुसी भू-उपग्रहबाट पनि गुप्तचरी सूचना प्राप्त गरेको विवरणहरू सार्वजनिक भएका थिए। यद्यपि, पछिल्लो रिपोर्टका विषयमा ह्वाइट हाउस, अमेरिकी रक्षा मन्त्रालय र चिनियाँ विदेश मन्त्रालयले हालसम्म कुनै औपचारिक प्रतिक्रिया दिएका छैनन्।





























प्रतिक्रिया