काठमाडाैं । इरानले आफ्नो संवर्द्धित युरेनियम अमेरिका पठाउने भन्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाबीलाई खण्डन गरेको छ । दुई देशबीच सम्भावित परमाणु सम्झौताका लागि वार्ता भइरहेको भनिए पनि आणविक सामग्रीको व्यवस्थापनलाई लिएर गम्भीर मतभेद सतहमा आएको हाे ।
इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाकाईले सरकारी टेलिभिजनमार्फत बोल्दै इरानको संवर्द्धित युरेनियम कतै पनि स्थानान्तरण नगरिने प्रस्ट पारेका छन्। “इरानको युरेनियम कुनै पनि देशमा पठाइने छैन,” उनले वार्ताका क्रममा यस विषयलाई इरानको ‘रेड लाइन’का रूपमा चित्रण गर्दै भने।
के थियो ट्रम्पको दाबी?
यसअघि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मा एक पोस्ट गर्दै इरानको परमाणु केन्द्रहरूमा गत वर्ष भएको हवाई आक्रमणपछि बाँकी रहेको ‘आणविक धूलो’ अमेरिकाले आफ्नो नियन्त्रणमा लिने दाबी गरेका थिए।
ट्रम्पले भनेका थिए, “हामी इरानसँग मिलेर ठुला मेसिनरीहरू प्रयोग गरी उत्खनन गर्नेछौँ र संवर्द्धित युरेनियम अमेरिका फिर्ता ल्याउनेछौँ।” उनले यो प्रक्रिया छिट्टै सुरु हुने र यसबापत इरानलाई कुनै रकम नदिइने समेत जिकिर गरेका थिए।
वार्ताको मुख्य अड्चन: ९०० पाउण्ड युरेनियम
इरानसँग हाल ६० प्रतिशतसम्म संवर्द्धन गरिएको करिब ९०० पाउण्ड युरेनियमको मौज्दात रहेको अनुमान छ । वासिङ्टनले इरानलाई परमाणु हतियार बनाउनबाट रोक्नुपर्ने अडान राख्दै आएको छ भने तेहरानले आफ्नो परमाणु कार्यक्रम शान्तिपूर्ण नागरिक प्रयोजनका लागि मात्र भएको दाबी गर्दै आएको छ।
विवादका बाबजुद दुवै पक्षले सम्भावित सम्झौताप्रति आशा व्यक्त गरेका छन्। ट्रम्पले इरानसँगको वार्ता सकारात्मक रूपमा अघि बढिरहेको र छिट्टै टुङ्गोमा पुग्न सक्ने बताएका छन्। यद्यपि, सम्झौता नभएसम्म इरानमाथि लगाइएको सामुद्रिक नाकाबन्दी भने जारी रहने ट्रम्पको अडान छ।





























प्रतिक्रिया