तेहरानले पुनः बन्द गर्‍यो होर्मुज

तेहरानले पुनः बन्द गर्‍यो होर्मुज

केन्द्रबिन्दु
15
Shares

काठमाडाैं । इरानी बन्दरगाहहरूमा अमेरिकाले जारी राखेको नाकाबन्दीको विरोधमा इरानको ‘इस्लामिक रिभोलुसनरी गार्ड कर्प’ले होर्मुज जलसन्धिको नियन्त्रण पुनः आफ्नो हातमा लिएको घोषणा गरेको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको सम्झौता शतप्रतिशत पूरा नभएसम्म नौसैनिक नाकाबन्दी पूर्ण रूपमा लागू रहने बताएपछि इरानले यस्तो कदम चालेको हो।

टर्कीमा जारी एन्टाल्या कूटनीतिक फोरममा इरानी उप–परराष्ट्रमन्त्री सईद खतिबजादेहले अमेरिकी दाबीको खण्डन गरेका छन्। अमेरिकाले इरान बिना सर्त जलसन्धि खोल्न सहमत भएको बताए पनि इरानले भने जहाजहरूले इरानी सशस्त्र बलको पूर्ण समन्वयमा तोकिएको क्षेत्रबाट मात्र यात्रा गर्नुपर्ने सर्त राखेको छ।

खतिबजादेहले भने, “राष्ट्रपति ट्रम्पले जे घोषणा गर्नुभयो, त्यो सत्य होइन। इरान वार्ताको टेबुलबाटै समस्या समाधान गर्न प्रतिबद्ध छ, तर यदि पुन: द्वन्द्व निम्तियो भने इरानले ‘पूर्ण शक्ति’का साथ जवाफ दिनेछ।”

यसैबीच, इजिप्ट र पाकिस्तानले अमेरिका र इरानबीच अन्तिम शान्ति सम्झौता गराउन कडा मेहनत गरिरहेको इजिप्टका विदेशमन्त्री बद्र अब्देलाटीले बताएका छन्। यस युद्धका कारण विश्वभर आर्थिक असर परिरहेको भन्दै आगामी केही दिनभित्रै सहमति जुट्नेमा उनीहरू आशावादी देखिएका छन्।

Logo