काठमाडौं। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका दक्षिण तथा मध्य एसियाका विशेष दूत सर्जियो गोर आज तीन दिने नेपाल भ्रमणका लागि काठमाडौँ आउँदै छन् । भारतका लागि अमेरिकी राजदूत समेत रहेका उनी नेपाल आएर प्रधानमन्त्री बालेन्द्र शाहसँग भेट गर्ने योजनामा छन् । उनको अर्थमन्त्री स्वर्णिम वाग्ले र परराष्ट्रमन्त्री शिशिर खनालसँग उनको भेटघाटको निश्चित भएको छ ।
तर प्रधानमन्त्री शाहले हालसम्म भेटघाट सुनिश्चित गरेका छैन । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार गोरसँग भेटघाटको कुनै कार्यतालिका छैन । गोरले यसअघि उनी बङ्गलादेश, भुटान, श्रीलंकालगायत देशका भ्रमण गरेर त्यहाँका राष्ट्र प्रमुखसँग भेटेका थिए । राष्ट्रपति ट्रम्पको सचिवालयमा बसेर काम गरिसकेका गोरलाई ट्रम्प नजिक तथा शक्तिशाली मानिन्छ ।
११ दिनअघि दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री एस पावल कपुर तीन दिने नेपाल भ्रमण सकेर फर्केपछि गोर नेपाल आउन लागेका हुन् ।
प्रधानमन्त्री शाहले हालसम्म एक्लाएक्लै कसैलाई भेटेका छैनन् । चैत २५ गते सामूहिक रूपमा राजदूतहरुसँग भेटघाट गरेका थिए । प्रधानमन्त्री सचिवालय स्रोतका अनुसार, विदेशबाट आउने राजदूत वा तल्लो तहका अधिकारीसँग भेट नगर्ने भनेका छन् ।


















