काठमाडाैं । भारतको तमिलनाडु र पश्चिम बंगालमा भएको विधानसभा निर्वाचनको प्रारम्भिक मतगणनाले राजनीतिक वृत्तमा ठूलो हलचल पैदा गरेको छ। तमिलनाडुमा अभिनेता विजयको नवगठित पार्टी तमिलगा भेत्री कझगम (टिभिके) ले परम्परागत शक्तिहरूलाई ठूलो चुनौती दिँदै अग्रता बनाएको छ भने पश्चिम बंगालमा भारतीय जनता पार्टी (भाजपा) ले ऐतिहासिक सफलतातर्फ पाइला चालेको छ।
तमिलनाडुका २३४ सिटको मतगणना सुरु भएको दुई घण्टाको प्रारम्भिक रुझान अनुसार अभिनेता विजयको पार्टी ११३ सिटमा अगाडि देखिएको छ। उनले चेन्नईदेखि मदुरैसम्मका मुख्य जिल्लाहरूमा सत्तारुढ डीएमकेको पकडलाई कडा झट्का दिएका छन्। एआईएडीएमके नेतृत्वको गठबन्धन दोस्रो स्थानमा छ भने सत्तारुढ डीएमके, कांग्रेस र डीएमडीकेको गठबन्धन हाल तेस्रो स्थानमा खुम्चिएको छ।
उता पश्चिम बंगालमा २९४ सिटको मतगणनामा भाजपाले बहुमतको जादुई आँकडा पार गर्दै १६० भन्दा बढी सिटमा अग्रता बनाएको छ। लामो समयदेखि भाजपालाई रोक्दै आएको बंगालमा यसपटक मुख्यमन्त्री ममता बनर्जीको तृणमूल कांग्रेस ११० भन्दा बढी सिटमा मात्र सिमित देखिएको छ। यो निर्वाचनमा निर्वाचन आयोगले मतदाता नामावलीबाट करिब ८९ लाख मतदाता हटाएको विषय निकै विवादास्पद बनेको थियो, जसलाई लिएर ममता बनर्जीले आयोगविरुद्ध मोर्चा खोलेकी थिइन्। अहिलेको प्रारम्भिक नतिजाले बंगालको राजनीतिमा ठूलो फेरबदल हुने संकेत देखाएको छ।





























प्रतिक्रिया