काठमाडाैं । भारतकाे तमिलनाडु विधानसभा निर्वाचन २०२६ को मतगणना जारी रहँदा दक्षिण भारतीय चलचित्रका सुपरस्टार तथा राजनीतिज्ञ सी. जोसेफ विजय (थलापति) को पार्टी ‘तमिलगा वेत्री कझगम’ (टिभिके) ले ऐतिहासिक प्रदर्शन गरेको छ। राज्यका २३४ सिटमा एक्लै चुनाव लडेको विजयको पार्टीले १०० भन्दा बढी सिटमा अग्रता बनाउँदै तमिलनाडुको राजनीतिमा दशकौँदेखि चल्दै आएको डीएमके र एआईएडीएमकेको विरासतलाई कडा चुनौती दिएको छ।
मतगणनाको प्रारम्भिक चरणमा केही समय पछि परेको टिभिकेले दिउँसोसम्ममा पुनरागमन गर्दै आफ्ना प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि छाडेको छ। विजय आफैँले चुनाव लडेका दुवै क्षेत्र पेराम्बुर र त्रिची इस्ट (तिरुचिरापल्ली) मा उनी भारी मत अन्तरले अगाडि देखिएका छन्। उनको यस सफलतालाई धेरैले सन् १९७७ मा एम.जी. रामचन्द्रनले पाएको जनलहरसँग तुलना गरेका छन्।
प्रधानमन्त्री नरेन्द्र मोदीले समेत विजयको पार्टीको “प्रभावशाली प्रदर्शन” को प्रशंसा गर्दै बधाई दिएका छन् । विजयले आफ्नो चुनावी अभियानका क्रममा डीएमकेलाई “दुष्ट शक्ति” र बिजेपीलाई “वैचारिक प्रतिद्वन्द्वी” भन्दै आफूलाई जनताको विकल्पका रूपमा उभ्याएका थिए।
विभिन्न एक्जिट पोलहरूले विजयको पार्टीबारे फरक-फरक प्रक्षेपण गरेका थिए। एक्सिस माई इन्डियाले ९८ देखि १२० सिटसम्म आउन सक्ने अनुमान गरेको थियो भने कतिपयले १०-१२ सिट मात्रै पाउने बताएका थिए। तर, हालको रुझानले विजयलाई तमिलनाडुको निर्णायक शक्तिका रूपमा स्थापित गरेको छ। ८५ प्रतिशतभन्दा बढी मतदान भएको यस चुनावको अन्तिम नतिजाले राज्यमा नयाँ राजनीतिक युगको सुरुवात गर्ने देखिएको छ।
विजयले २०२४ मा मात्रै टिभिके स्थापना गरेका थिए। स्थापनाको दुई वर्षमै विजयको पार्टी सत्तामा आउने रूझान देखाएको हाे । भारतीय मिडियाहरूले पार्टी अध्यक्ष थालापतीलाई तमिलनाडुका नयाँ मुख्यमन्त्री बन्ने पक्कापक्की भएको उल्लेख गरेका छन्।


















